धनकुटा : धनकुटा प्रहरीले कोशी लोकमार्गबाट ७७५ केजी गाँजासहित एक मिनी ट्रक नियन्त्रणमा लिएको छ।
लागूऔषध ओसारपसारमा संलग्न रहेको आरोपमा ट्रक चालकलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ।
आइतबार बिहान करिब ४ः३० बजेतिर इलाका प्रहरी कार्यालय भेडेटारबाट प्रहरी नायब निरीक्षक भीमबहादुर श्रेष्ठको कमाण्डमा खटिएको टोलीले साँगुरीगढी गाउँपालिका–६ कोलबोटेस्थित कोशी लोकमार्गमा धनकुटाबाट धरानतर्फ जाँदै गरेको को १ ख ४६३५ नम्बरको मिनी ट्रक रोकी जाँच गरेको थियो।
प्रहरीका अनुसार शंकाका आधारमा ट्रकको ढाला खानतलासी गर्दा आलुको बोरामुनि लुकाएर राखिएको २५ वटा पोकामा प्याक गरिएको ७७५ केजी गाँजा फेला परेको हो।
घटनामा धनकुटाको पाख्रिवास नगरपालिका–१ स्थायी घर भई हाल सुनसरीको इटहरी–१ आँपगाछी बस्ने ३३ वर्षीय परीक्षण कुँवर पक्राउ परेका छन्।
प्रहरीले गाँजासहित मिनी ट्रक र चालकको साथबाट बरामद भएको मोबाइलसमेत नियन्त्रणमा लिएको छ।
पक्राउ परेका कुँवरविरुद्ध लागूऔषधसम्बन्धी कसुरमा जिल्ला अदालत धनकुटाबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।















Discussion about this post