उदयपुर : मदन भण्डारी लोकमार्गअन्तर्गत उदयपुरगढी गाउँपालिका–७ फुस्रेमा ट्रक र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक महिलाको मृत्यु भएको छ भने उनका श्रीमान् गम्भीर घाइते भएका छन्।
गाईघाटबाट कटारीतर्फ जाँदै गरेको स ५ प ४९ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको ना ५ स २८४२ नम्बरको ट्रक ठोक्किँदा दुर्घटना भएको हो।
जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक गणेशबहादुर बमका अनुसार दुर्घटनामा मोटरसाइकलको पछाडि सवार उदयपुरगढी गाउँपालिका–३ बर्रेकी २८ वर्षीया यमुना बिक गम्भीर घाइते भएकी थिइन्।
उनलाई तत्काल जिल्ला अस्पताल उदयपुर पुर्याएर उपचार सुरु गरिए पनि उपचारकै क्रममा चिकित्सकले मृत घोषणा गरेका हुन्।
दुर्घटनामा मोटरसाइकल चालक तथा मृतकका श्रीमान् २८ वर्षीय यमबहादुर बिक गम्भीर घाइते भएका छन्। जिल्ला अस्पताल उदयपुरमा प्रारम्भिक उपचारपछि उनलाई थप उपचारका लागि विराटनगर रिफर गरिएको प्रहरीले जनाएको छ।
दुर्घटनापछि ट्रक चालक सप्तरीको सुरुङ्गा नगरपालिका–१ निवासी ४४ वर्षीय एकबहादुर खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ। ट्रकसमेत नियन्त्रणमा लिइएको र दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।




















Discussion about this post