इटहरी : इन्जुरी समयमा वैकल्पिक खेलाडी समीक्षा याख्याले गरेको एक मात्र गोलको मद्दतमा फेयर फुटबल क्लब धरानले कोशी प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिताको उपाधि जितेको छ।
इटहरीस्थित प्रदेशिक रंगशालामा सम्पन्न फाइनलमा धरानले इलामको आत्मा पवित्र एफसी मासेबुङलाई १–० गोलअन्तरले पराजित गर्दै च्याम्पियन बनेको हो।
निर्धारित ९० मिनेटसम्म दुवै टोलीले गोल गर्न नसकेपछि खेल बराबरीतर्फ उन्मुख थियो। तर, इन्जुरी समयको अतिरिक्त तीन मिनेटमा मैदान छिरेकी वैकल्पिक खेलाडी याख्याले जेनिफर राणाको पासलाई गोलमा परिणत गर्दै धरानलाई उपाधि दिलाइन्।
खेलको ५९औँ मिनेटमा यामकुमारी विकको स्थानमा मैदान प्रवेश गरेकी समिक्षा फाइनलको ‘प्लेयर अफ द म्याच’ घोषित भइन्। उनले नगद ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरिन्।
उपाधिसँगै धरानले नगद २ लाख रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्यो। उपविजेता आत्मा पवित्र एफसी मासेबुङ इलामले नगद १ लाख रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्यो।
व्यक्तिगत पुरस्कारतर्फ धरानकी उषा थापा उत्कृष्ट गोलकिपर घोषित भइन् भने इलामकी वर्षा ओली तीन गोलसहित सर्वाधिक गोलकर्ताको पुरस्कार जितिन्। प्रतियोगिताकी सर्वोत्कृष्ट खेलाडी (एमभीपी) धरानकी कप्तान प्रजिता राई घोषित हुँदै नगद २५ हजार रुपैयाँबाट पुरस्कृत भइन्।
असार १५ गतेदेखि सञ्चालन भएको प्रतियोगितामा कोशी प्रदेशका आठ टोली सहभागी थिए। प्रतियोगिता कोशी प्रदेश खेलकुद विकास बोर्डको संयोजन तथा इटहरी फुटबल क्लबको आयोजनामा सम्पन्न भएको हो।





















Discussion about this post