इटहरी : महिलाले पनि आफ्नै पहिचान बनाउनुपर्छ र समाजमा सफलताको उदाहरण प्रस्तुत गर्नुपर्छ भन्ने सोचसहित व्यवसायिक क्षेत्रमा सक्रिय इटहरीकी सुमित्रा भट्टराई यही असार २७ गते हुन लागेको उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा उम्मेदवार बनेकी छन् ।
इटहरीको पाथीभरा टेलर्स एण्ड ट्रेनिङ सेन्टरमार्फत विगत १५ वर्षदेखि व्यवसायिक क्षेत्रमा सक्रिय भट्टराईले सिलाइ–कटाइसँगै विभिन्न सीपमूलक तालिम प्रदान गर्दै आएकी छन् ।
मेहनत, लगनशीलता र आत्मनिर्भरताको अभियानलाई प्राथमिकतामा राख्दै उनले महिला उद्यमशीलताको विकासमा समेत योगदान पु¥याउँदै आएकी छन् ।
नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघ कोशी प्रदेशको कोषाध्यक्ष तथा राष्ट्रिय महिला उद्यमी कोशी प्रदेशको सचिवको जिम्मेवारी सम्हालिसकेकी भट्टराई नेपाल जेसीजकी पूर्व राष्ट्रिय उपाध्यक्षसमेत हुन् ।
व्यवसायसँगै सामाजिक क्षेत्रमा पनि सक्रिय भट्टराई निःसहाय बालबालिका सेवा आश्रमको सञ्चालक सदस्यका रूपमा आबद्ध रहेकी छन् ।
महिलाहरूलाई सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले उनले विभिन्न सीपमूलक तालिम सञ्चालन गर्दै आएकी उनले शिक्षातर्फ स्नातक तह उत्तीर्ण गरेकी छन् ।
खासगरी भट्टराईले महिलालाई उद्यमसँग जोड्दै उनीहरूको क्षमता विकास र व्यवसायिक वातावरण निर्माणमा योगदान गर्ने लक्ष्यसहित उम्मेदवारी दिएको उल्लेख गरिन् ।
इटहरीको व्यवसायिक क्षेत्रको प्रतिनिधित्व गर्ने महत्वपूर्ण संस्थाको नेतृत्वका लागि हुने यो निर्वाचनलाई स्थानीय उद्योगी–व्यवसायीहरूले चासोका साथ हेरेका छन् ।
उनी अध्यक्ष पदकी उम्मेदवार गायत्री कट्वाल भण्डारी समूहबाट महिला सदस्य पदमा चुनावी प्रतिस्पर्धामा उत्रिएकी हुन् ।
अध्यक्षका लागि गायत्री र नवराज काफ्ले चुनावी मैदानमा छन् ।
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा यसपटक कुल २ हजार ३ सय ६५ मतदाता रहेका छन् ।




















Discussion about this post