इटहरी : मोरङको बूढीगंगा गाउँपालिका–४ नेमुवा चोकस्थित कोशी लोकमार्गमा यात्रुबाहक बसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ।
प्रहरीका अनुसार शनिबार दिउँसो करिब १ः३० बजेतिर विराटनगरबाट इटहरीतर्फ आउँदै गरेको मे १ ख २४६४ नम्बरको यात्रुबाहक बसले बाटो काट्दै गरेका सुनसरीको दुहबी नगरपालिका–५ घर भई हाल मोरङको बूढीगंगा–३ बस्दै आएका करिब ५० वर्षीय विनोद मेहतरलाई ठक्कर दिएको हो।
दुर्घटनापछि इलाका प्रहरी कार्यालय नेमुवाबाट खटिएको प्रहरी टोलीले गम्भीर घाइते मेहतरलाई उपचारका लागि विराट टिचिङ अस्पताल, गंगाचोक पुर्याएको थियो।
टाउको, छाती र बाँया हातमा गम्भीर चोट लागेका उनको उपचारकै क्रममा दिउँसो ३ः४२ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा संलग्न बस र चालक झापाको बिर्तामोड नगरपालिका–४ निवासी ३१ वर्षीय प्रकाश उप्रेतीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




















Discussion about this post