इटहरी : कोशी प्रदेश प्रहरीले सञ्चालन गरिरहेको लागूऔषधविरुद्धको अभियानअन्तर्गत सुनसरी र झापाबाट चार जनालाई पक्राउ गरेको छ।
पक्राउ परेकाहरूको साथबाट प्रतिबन्धित औषधि ट्रामाडोल, डिसाइक्लोमाइन र ब्राउनसुगर बरामद भएको प्रहरीले जनाएको छ।
कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार सुनसरीको इटहरी उपमहानगरपालिका–५ आइतबारेबाट अस्थायी प्रहरी चौकी जनताबस्ती र प्रहरी चौकी बालग्रामको संयुक्त टोलीले स्थानीय २३ वर्षीय भवानी गुरुङलाई पक्राउ गरेको हो।
उनको साथबाट प्रतिबन्धित औषधि ट्रामाडोल ७० क्याप्सुल र डिसाइक्लोमाइन १२९ ट्याब्लेट बरामद गरिएको प्रहरीले जनाएको छ।
यस्तै, झापाको भद्रपुर नगरपालिका–५ मेचीबिटमा वडा प्रहरी कार्यालय भद्रपुर र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काकडभिट्टाको संयुक्त टोलीले चेकजाँचका क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेको को ३३ प ८३ नम्बरको मोटरसाइकलमा सवार शिवसताक्षी नगरपालिका–१ धर्मपुरका ३६ वर्षीय नारायण बजगाई र २६ वर्षीय युवराज ढकाललाई पक्राउ गरेको छ।
उनीहरूको साथबाट ४ ग्राम २७ मिलिग्राम ब्राउनसुगर बरामद हुनुका साथै मोटरसाइकलसमेत नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
त्यसैगरी, विशेष सूचनाका आधारमा प्रहरी चौकी जलथलबाट खटिएको टोलीले झापाको हल्दीबारी गाउँपालिका–३ निवासी २६ वर्षीय सनम गुरुङलाई १ ग्राम २९ मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको छ।
प्रहरीका अनुसार पक्राउ परेका चारै जनामाथि सम्बन्धित जिल्ला अदालतबाट म्याद थप गरी लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको छ।




















Discussion about this post