इटहरी : प्रदेश सरकारहरूको सत्ता सहकार्यमा नेकपा (एमाले) र नेपाली कांग्रेसबीचको देखिएको दरारको प्रत्यक्ष असर कोशी प्रदेश सरकारमा पनि पर्ने संकेत देखिएको छ।
नेपाली कांग्रेसले एमाले नेतृत्वका प्रदेश सरकारबाट आफ्ना मन्त्रीहरूलाई फिर्ता बोलाउने तयारी गरेसँगै कोशी प्रदेश सरकार पनि राजनीतिक रूपमा नयाँ मोडमा पुगेको छ।
कोशी प्रदेश कांग्रेसले सरकारमा आफ्नो सहभागिताबारे निर्णय गर्न आज संसदीय दल र पार्टी नेतृत्वको बैठक बोलाएको छ।
बैठकले सरकारबाट मन्त्रीहरूलाई फिर्ता बोलाउने औपचारिक निर्णय गर्ने स्रोतले जनाएको छ। निर्णय भएलगत्तै कांग्रेसका मन्त्रीहरूले मुख्यमन्त्री हिक्मतकुमार कार्कीसमक्ष राजीनामा बुझाउने तयारी गरेका छन्।
केन्द्रमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमपछि नेपाली कांग्रेसले एमालेसँगको सहकार्यलाई निरन्तरता दिन नसकिने निष्कर्ष निकालेको छ।
कांग्रेस महामन्त्री गुरुराज घिमिरेले सुदूरपश्चिममा उत्पन्न राजनीतिक परिस्थितिपछि एमाले नेतृत्वका प्रदेश सरकारबाट कांग्रेस बाहिरिने प्रक्रिया सुरु भएको र क्रमशः सबै प्रदेशमा यही निर्णय कार्यान्वयन हुने बताएका छन्।
यसको प्रभाव कोशी प्रदेशमा पनि देखिएको हो। कांग्रेसभित्र संस्थापन र संस्थापनइतर समूहबीच विभिन्न विषयमा मतभेद रहे पनि सरकारबाट बाहिरिने विषयमा भने दुवै पक्ष एकमत रहेको नेताहरू बताउँछन्।
पार्टीभित्र प्रतिपक्षमा बस्ने वा नयाँ सत्ता समीकरण निर्माण गर्नेबारे छलफल भइरहे पनि तत्कालका लागि सरकारबाट बाहिरिने निर्णयमा विवाद नरहेको स्रोतको दाबी छ।




















Discussion about this post