मोरङ : घरमै पालेको खसी नियन्त्रणमा लिन सडक पार गर्न खोज्दा मोरङको केराबारीमा एक वृद्धा महिलाले ज्यान गुमाएकी छन्।
शुक्रबार भएको दुर्घटनामा केराबारी गाउँपालिका–५ की ७० वर्षीया विष्णुमाया मगरको मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार बालुवा बोकेर केराबारीबाट धरानतर्फ जाँदै गरेको को १ ख ६७९० नम्बरको टिपरले बिहान करिब ८ः५० बजेतिर शान्ति चोकमा सडक पार गर्न लागेकी मगरलाई ठक्कर दिएको थियो।
प्रारम्भिक अनुसन्धानबाट उनी घरबाट निस्किएको खसी खेदाउँदै सडक पार गर्न खोजिरहेका बेला दुर्घटना भएको खुलेको छ।
गम्भीर घाइते भएकी मगरलाई तत्काल उद्धार गरी धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिए पनि अस्पताल पुग्नेबित्तिकै चिकित्सकले मृत घोषणा गरेका थिए।
दुर्घटनापछि इलाका प्रहरी कार्यालय केराबारीबाट खटिएको टोलीले टिपर चालक संखुवासभाको चैनपुर नगरपालिका–११ घर भई हाल धरान–१३ बस्दै आएका २३ वर्षीय विक्रम माझीलाई नियन्त्रणमा लिएको छ।
उनलाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय बेलबारीमा राखिएको छ।
प्रहरीले दुर्घटनाको विस्तृत अनुसन्धान गरिरहेको जनाएको छ।



















Discussion about this post