धरान : आगामी आर्थिक वर्ष २०८३।८४ को बजेट पारित गर्ने अन्तिम तयारीमा रहेको धरान उपमहानगरपालिका राजनीतिक विवादको चपेटामा परेको छ।
करिब २ अर्ब ७६ करोड रुपैयाँको बजेट प्रस्तुत गर्ने उद्देश्यले आइतबार बोलाइएको कार्यपालिका बैठक एजेन्डामै प्रवेश गर्न नपाई स्थगित भएपछि बजेट प्रक्रिया नै अन्योलमा परेको छ।
कार्यवाहक प्रमुख अइन्द्रविक्रम बेघाले बैठक सोमबार बिहान ७ बजेका लागि सारिएको जानकारी दिँदै केही कार्यपालिका सदस्यले एजेन्डाबाहिरका विषयमा लामो बहस गर्न खोजेपछि बैठक सञ्चालन हुन नसकेको बताए।
बैठकमा एमालेबाट निर्वाचित कार्यपालिका सदस्यहरूले विभिन्न विषय उठाएपछि बजेटसम्बन्धी औपचारिक छलफल नै सुरु हुन सकेन।
बजेट निर्माणका लागि गठित सीमा निर्धारण समिति र विषयगत समितिमा एमालेकै बहुमत सहभागिता हुँदाहुँदै अन्तिम बैठकमा अवरोध सिर्जना गरिएको भन्दै कार्यवाहक प्रमुख बेघाले असन्तुष्टि जनाए।
उनले बजेट निर्माणका क्रममा सीमा निर्धारण समिति, विषयगत समिति र सर्वदलीय तहमा करिब ३० पटकसम्म छलफल भइसकेको उल्लेख गर्दै अन्तिम समयमा गरिएको अवरोध योजनाबद्ध रहेको आरोप लगाए।
बैठक स्थगित भएसँगै नगरसभामा बजेट पेश गर्ने कार्यतालिका प्रभावित हुने देखिएको छ।
निर्धारित समयमै बजेट पारित हुन नसके धरान उपमहानगरपालिकाको नयाँ आर्थिक वर्षका विकास योजना, सेवा प्रवाह र वित्तीय व्यवस्थापनमा समेत असर पर्ने सम्भावना बढेको छ।

















Discussion about this post