इटहरी : सुन्दरहरैँचास्थित सुकुना माध्यमिक विद्यालयका छात्रामाथि यौनजन्य दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका चार शिक्षक तथा कर्मचारीलाई जिल्ला अदालत मोरङले धरौटीमा रिहा गरेको छ।
बुधबार न्यायाधीश शिवप्रसाद खनालको इजलासले चारै जनासँग धरौटी माग गर्दै मुद्दाको पुर्पक्ष धरौटीमा गर्ने आदेश दिएको हो। आदेशपछि उनीहरूले तोकिएको रकम बुझाएर रिहा भएका छन्।
अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीका अनुसार सुन्दरहरैँचा–१२ का ३३ वर्षीय अविरल मास्के, सोही स्थानका ४० वर्षीय प्रदीप भट्टराई, सुन्दरहरैँचा–२ का ३० वर्षीय किशोरलाल गच्छदार र झापा बुद्धशान्ति–६ का ३९ वर्षीय भीमप्रसाद नेपाल धरौटीमा रिहा भएका हुन्।
मास्के, भट्टराई र नेपालसँग जनही १ लाख रुपैयाँ तथा गच्छदारसँग ७५ हजार रुपैयाँ धरौटी माग गरिएको थियो।
प्रहरीका अनुसार मास्के विद्यालयका शिक्षक तथा लेखापाल, गच्छदार र नेपाल शिक्षक तथा भट्टराई विद्यालयका बस चालक हुन्। उनीहरूलाई प्रहरीले साउन ४ गते पक्राउ गरेको थियो।
अनुसन्धानका क्रममा प्राप्त सामाजिक सञ्जालका च्याट तथा पीडित पक्षको किटानी जाहेरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको थियो। चारै जनाविरुद्ध सरकारी वकिल कार्यालय मोरङले बालबालिकाविरुद्धको कसुरअन्तर्गत छुट्टाछुट्टै चारवटा मुद्दा दायर गरेको थियो।
अभियोगपत्र दर्तापछि भएको थुनछेक बहसपछि अदालतले तत्काल प्राप्त प्रमाणका आधारमा मुद्दाको पुर्पक्ष धरौटीमा गर्ने आदेश दिएको हो।
आरोप सार्वजनिक भएपछि विद्यालयले चारै जनालाई निलम्बन गरेको थियो। अदालतको धरौटी आदेशसँगै उनीहरू हाललाई थुनामुक्त भएका छन् भने मुद्दाको कानुनी प्रक्रिया भने जारी रहनेछ।












Discussion about this post