इटहरी : श्रीकृष्ण जन्माष्टमीको अवसरमा इटहरीस्थित श्री कृष्ण प्रणामी मन्दिरमा भक्तजनको घुइँचो लागेको छ । भगवान् श्रीकृष्णको पूजा–आराधना तथा दर्शनका लागि शुक्रबार बिहानैदेखि साँझसम्म मन्दिरमा भक्तजनको भीड लागेको थियो ।
वैदिक सनातन धर्मावलम्बीले भगवान् श्रीकृष्णको पूजा, आराधना, व्रत तथा भजन–कीर्तन गर्दै जन्माष्टमी पर्व श्रद्धा र भक्तिपूर्वक मनाएका हुन् । इटहरीसहित कोशी प्रदेशका विभिन्न स्थानबाट भक्तजन मन्दिरमा पुगेका थिए ।
मन्दिर परिसरमा बालबालिकादेखि वृद्धवृद्धासम्म भगवान् श्रीकृष्णको दर्शन र पूजा गर्न पुगेका देखिन्थे । भक्तजनले कृष्णको मूर्ति तथा बालगोपालको पूजा गर्दै भजन–कीर्तन र धार्मिक गतिविधिमा सहभागिता जनाएका थिए ।
हिन्दू धर्मशास्त्रअनुसार अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट मानव समुदायको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतारका रूपमा श्रीकृष्णको जन्म भएको मानिन्छ । द्वापरयुगमा जन्मिएका श्रीकृष्णले सत्य, न्याय र सत्कर्मको पक्षमा उभिँदै मानव समुदायलाई धर्मको मार्गमा अघि बढ्न प्रेरित गरेको धार्मिक विश्वास छ ।
जन्माष्टमीका दिन विशेषगरी कृष्ण मन्दिर तथा अन्य धार्मिकस्थलमा भक्तजनको भीड लाग्ने गर्छ । भक्तजनले दिनभर उपवास बसेर मध्यरातमा भगवान् श्रीकृष्णको जन्मोत्सव मनाउने परम्परा छ ।
इटहरीको कृष्ण प्रणामी मन्दिरमा पनि जन्माष्टमीका अवसरमा विशेष पूजा तथा धार्मिक कार्यक्रम आयोजना गरिएको थियो । मन्दिरमा भेला भएका भक्तजनले भगवान् श्रीकृष्णप्रति श्रद्धा व्यक्त गर्दै सुख, शान्ति र समृद्धिको कामना गरेका छन् ।















Discussion about this post