प्रदेश १ मा पहिलोपटक डेढ अर्ब लगानीमा पाँचतारे होटल खुलेको छ । झापाको मेचीनगरमा डेढ अर्ब लगानीमा मेची क्राउन नामक पाँचतारे होटल खुलेको हो ।
एक पत्रकार सम्मेलन गर्दै होटल सम्बन्धि जानकारी गराईएको थियो । बङ्गलादेश, भूटान र भारतीय पर्यटकलाई लक्षित गरेर पूर्वपश्चिम राजमार्गले छोएको मेचीनगर–८ जोरसिमलमा आठ विगाहा क्षेत्रफलमा होटलको संरचना निर्माण भएको हो ।
होटल सञ्चालन गर्ने भेगास इन्टरटेन्मेन्ट प्रालिका अध्यक्ष पवित्रकुमार कार्कीले मुलुकको पर्यटन व्यवसायलाई समृद्ध तुल्याउन स्तरीय होटल आवश्यक हुने भएकोले प्रदेश नं. १ मै पहिलो पाँचतारे होटल सञ्चालन गरिएको बताए ।
उनले भने, ‘हामीकहाँ १ सय ५ वटा रुम रहेको छ । विवाह, बैठक, सेमिनारका लागि पनि सुविधा सम्पन्न हलहरु उपलब्ध छन् ।’
उनले भिआईपी आगमनका लागि आफ्नै निजी हेलिपेडको पनि व्यवस्था गर्न सकिने र ५ सय बढी सवारी साधन पार्किङ गर्न सकिने जानकारी दिए । होटल तथा क्यासिनो पूर्ण रुपमा सञ्चालनमा आएपनि करीब ९ सय नेपालीले रोजगारी पाउँने उनले बताए ।
चन्द्रगढी विमानस्थलबाट १७ किलोमिटर र भारतको बागडोग्रा विमानस्थलबाट २५ किलोमिटरको दूरीमा अवस्थित होटल मेची क्राउनमा होटल परिसरमा क्यासिनो, हेलिप्याड, स्पा, जीमहाउस, स्वीमिङ पुलल, ग्रीन गार्डेनगायत सुविधा रहेको उनको भनाई थियो ।
Discussion about this post