विराटनगर : नेपाली कांग्रेस विराटनगर महानगर कार्यसमितिको सभापतिमा कृष्णबहादुर कार्की निर्वाचित भएका छन् ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बिहीबार भएको महानगर कार्यसमितिको निर्वाचनमा कार्कीले ६४६ मत प्राप्त गरी सभापतिमा निर्वाचित भएका हुन् ।
उनका निकटतम प्रतिस्पर्धी केशव गिरीले १२६ मत प्राप्त गरे । निर्वाचन अधिकृत विकास थापाका अनुसार कार्कीले गिरीलाई ५२० मतको अन्तरले पराजित गरेका हुन् ।
यसैगरी उपसभापति महिला पदमा श्रुती शर्मा ४९५ मतसहित निर्वाचित भएकी छन् । उनकी प्रतिस्पर्धी कृष्णाकुमारी साहले २२९ मत प्राप्त गरिन् ।
महानगरबाट जिल्ला कार्यसमितिको सदस्यमा महिलातर्फ सावित्रा पोखरेल र उमा घिमिरे तथा पुरुषतर्फ सुरेन्द्र भट्टराई, ज्ञानेश्वर नेपाल र सुमन प्रसाईं निर्वाचित भएका छन् ।
सहमति हुन नसकेपछि निर्वाचन समितिले निर्वाचन प्रक्रियामार्फत नेतृत्व चयन गरेको हो । यसअघि विराटनगर महानगर कार्यसमितिको उपसभापति, सचिव र सहसचिव भने निर्विरोध चयन भएका थिए ।
निर्वाचन समितिका अनुसार उपसभापतिमा शुभाषिस कोइराला, सचिवमा वीरेन्द्रकुमार यादव र सहसचिवमा टीकाराम सापकोटा निर्विरोध चयन भएका हुन् ।

















Discussion about this post