असोज : कोशी प्रदेश सभाकी उपसभामुख सिर्जना दनुवारले जनप्रतिनिधि, सरकारी कार्यालय तथा गैरसरकारी संघसंस्थाले परिणाममुखी काम गरेर उपलब्धि देखाउन आवश्यक रहेको बताएकी छन्।
जिल्ला समन्वय समिति उदयपुरको आयोजनामा सम्पन्न आर्थिक वर्ष २०८२/०८३ को वार्षिक कार्यप्रगति समीक्षा कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोल्दै उपसभामुख दनुवारले राज्यको लगानीको सही उपयोग गर्दै त्यसको प्रत्यक्ष परिणाम देखिने गरी काम गर्नुपर्ने बताइन्।
उनले सरकारी तथा गैरसरकारी कार्यालयले प्रदेश सरकारले निर्धारण गरेको लक्ष्य, उद्देश्य र नीतिअनुसार काम गर्नुपर्नेमा जोड दिइन्। गरिएको कामको परिणामबाट सरोकारवालाले सन्तुष्टि प्राप्त गर्न सक्ने अवस्था सिर्जना गर्नुपर्ने उनको भनाइ थियो।
दनुवारले आगामी दिनमा आफूहरूले गरेका काममा कसैले प्रश्न उठाउने वा दोष देखाउने अवस्था नआउने गरी अनुशासित र इमानदार भएर काम गर्नुपर्ने बताइन्। यसले आर्थिक अनुशासन कायम गर्नसमेत महत्वपूर्ण भूमिका खेल्ने उनले उल्लेख गरिन्।
जिल्ला समन्वय समिति उदयपुरका प्रमुख गौरबहादुर विश्वकर्माको संयोजकत्वमा भएको समीक्षा कार्यक्रममा जिल्लाका आठवटै स्थानीय तहका उपप्रमुख तथा विषयगत समितिका प्रतिनिधि, १५ वटा सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि र पाँचवटा गैरसरकारी संघसंस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो।
दुई दिनसम्म चलेको कार्यक्रममा कोशी प्रदेश सभा सदस्य गीता रेग्मी, सम्झना पाख्रिन र नारायणबहादुर बुर्जा मगर, जिल्ला समन्वय समितिका उपप्रमुख तेजबहादुर गिरी तथा जिल्ला समन्वय समितिका सदस्यहरूको उपस्थिति रहेको थियो।

















Discussion about this post