उदयपुर : नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा उदयपुरबाट विभिन्न क्लस्टरतर्फ केन्द्रीय सदस्य पदमा आठ जनाले उम्मेदवारी दिएका छन्।
उदयपुरबाट महाधिवेशन प्रतिनिधि बनेर गएकामध्ये ३५ वर्षमुनिका युवा, ३५ वर्षमुनिका महिला, महिला, आदिवासी जनजाति, मुस्लिम, थारु, सीमान्तकृत तथा पेशागत विषय विज्ञ क्लस्टरतर्फ उम्मेदवारी परेको हो।
कोशी भूगोलतर्फ खुला केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिएका कांग्रेसका पुराना नेता विदुर बस्नेत र दुई पटक केन्द्रीय सदस्य भइसकेकी लक्ष्मी परियारले भने सहमहामन्त्री पदको उम्मेदवारी फिर्ता लिएका छन्। पार्टी सभापति गगन थापासँगको परामर्शमा उनीहरूले उम्मेदवारी फिर्ता लिएका हुन्।
केन्द्रीय सदस्यमा उम्मेदवारी दिनेमा पार्टीका पूर्वकेन्द्रीय सदस्यदेखि ३५ वर्षमुनिका युवासम्म रहेका छन्। दुई पटक केन्द्रीय सदस्य भइसकेकी तथा संविधानसभा सदस्यसमेत रहेकी प्रमिला राईले आदिवासी जनजाति क्लस्टरतर्फ केन्द्रीय सदस्यमा उम्मेदवारी दिएकी छन्। २००७ सालको क्रान्तिका योद्धा कांग्रेसका पुराना नेता बलबहादुर राईकी छोरी प्रमिलाले पार्टीको राजनीतिक विरासतलाई निरन्तरता दिन उम्मेदवारी दिएको बताएकी छन्।
त्यसैगरी ३५ वर्षमुनिको युवा क्लस्टरतर्फ विश्वराज तामाङले उम्मेदवारी दिएका छन्। पत्रकारितामा समेत क्रियाशील तामाङसँगै ३५ वर्षमुनिका महिला क्लस्टरतर्फ मिरा कटुवालले केन्द्रीय सदस्यमा दाबी गरेकी छन्।
मुस्लिम क्लस्टरतर्फ नजबुल खान (निलम) र सीमान्तकृत क्लस्टरतर्फ सञ्जाकुमारी दनुवारले उम्मेदवारी दिएका छन्। खुला महिलातर्फ सरस्वती ढुंगाना, पेशागत विषय विज्ञ क्लस्टरतर्फ हरिबहादुर कार्की तथा थारु क्लस्टरतर्फ डा. भोगेन्द्रप्रसाद चौधरीले उम्मेदवारी दिएका छन्।
मंगलबार दर्ता भएको उम्मेदवारीमाथि बिहीबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म मतदान गर्ने कार्यतालिका रहेको छ।
कांग्रेसको वैधानिक व्यवस्थाअनुसार पदाधिकारी तथा केन्द्रीय सदस्यका लागि देशभरबाट छनोट भएर आएका महाधिवेशन प्रतिनिधिले मतदान गर्न पाउनेछन्। उदयपुरबाट ८६ जना महाधिवेशन प्रतिनिधि रहेका छन् भने देशभर ७ हजार २ सय २४ जना मतदाता रहेको उदयपुर निर्वाचन क्षेत्र नं. १ (ख) का सभापति सरोज बस्नेतले बताए।

















Discussion about this post