इटहरी : जानुका कार्कीले २०५८ सालमा झुम्का–चतरा बस स्ट्यान्ड नजिकै घर बनाउँदा त्यहाँको चहलपहलमा आफ्नो भविष्य देखेकी थिइन् । सुनसरी–मोरङ सिँचाइ आयोजनाको ऐलानी जग्गा अरू व्यक्तिबाट किनेकी उनले एक लाख रुपैयाँभन्दा बढी खर्चेर घर बनाइन् र पसल चलाइन् ।
व्यापार राम्रो हुँदै गएपछि घरसमेत पक्की बनाइन् । तर, २०७१ सालको असारमा सिँचाइ आयोजनाले उनको घर भत्काइदियो । वर्षौंको मेहनत र लगानी एकैपटक माटोमा मिल्यो ।
घर भत्किएको एक दशकभन्दा बढी समय बितिसक्दा पनि जानुकाको मनले त्यो ठाउँ छाड्न सकेको छैन। अहिले उनी फेरि त्यही जग्गामा सामान्य घर बनाएर पसल चलाइरहेकी छन । फरक यत्ति हो, पहिले भविष्यको सपना देखेर घर बनाएकी उनी अहिले जुनसुकै बेला घर भत्किन सक्ने त्रासमा बसिरहेकी छन । ‘फेरि कतिबेला भत्काइदिने हो, टुंगो छैन,’ उनी भन्छिन् ।
जानुकाको यो अनुभव ऐलानी जग्गामा लगानी गरेर घरबार जोड्ने र पछि त्यही लगानी गुमाउनुपर्ने अवस्थाको एउटा उदाहरण हो । खोटाङको छितापोखरीबाट उदयपुरको सिसुवा हुँदै झुम्का आइपुगेको उनको परिवारले यहाँ बसोबास थालेपछि सिँचाइ आयोजनाको जग्गा अर्कै व्यक्तिबाट खरिद गरेको थियो तर ती जग्गा बेच्ने व्यक्ति अहिले झुम्काबाट बेपत्ता भइसके ।
सामान्य आर्थिक अवस्था भएको जानुकाको परिवारमा खोटाङ र उदयपुरको रामपुरमा रहेको जायजेथा बेचेर अन्यत्र राम्रो ठाउँमा जग्गा किन्न सक्ने अवस्था पनि थियो ।
तर, झुम्का बजार नजिकैको व्यावसायिक सम्भावना र बस स्ट्यान्ड आसपासको चहलपहलले उनीहरूलाई त्यतै आकर्षित ग¥यो । अरूले पनि जग्गा किनबेच गर्ने व्यक्तिहरूमार्फत जग्गा खरिद गरिरहेको देखेपछि जानुकाले एक लाख रुपैयाँभन्दा बढी रकम खर्चेर सिँचाइ आयोजनाको जग्गा किनिन् ।
जग्गा किन्दा त्यो सिँचाइ आयोजनाको स्वामित्वमा रहेको उनलाई थाहा थियो । तर, आयोजनाले कुनै दिन घर भत्काउला भन्ने उनले सोचेकै थिइनन् । अन्ततः २०७१ साल असारमा उनको घर भत्काइयो । जानुकाको रामधुनी नगरपालिका–३ मा अहिले पनि पौने दुई कट्ठा जग्गा र घर छ ।
नहर किनारको घर भत्किएपछि उनी केही महिना त्यही घरमा बसेकी थिइन । तर, पुरानो ठाउँमा गरेको लगानीको सम्झनाले उनलाई त्यहाँ बसिरहन दिएन । अन्ततः उनी फेरि पुरानै ठाउँमा फर्किइन् र सामान्य घर बनाएर पसल सञ्चालन गर्न थालिन् ।
पहिलेको लगानी डुबिसकेको भए पनि त्यही ठाउँ छाड्न नसक्नुको कारण सोध्दा उनी विगत सम्झिन्छिन । ‘पहिले लगानी गरेको पैसाको मायाले मन चित्त बुझाउनै सक्दिनँ,’ उनी भन्छिन् ।
यसपटक भने जानुकाले घरमा ठूलो रकम खर्च गरेकी छैनन् । ‘अहिले त सामान्य घर बनाएर पसल गर्न थालेकी हुँ,’ उनले भनिन् । पहिले पक्की घर बनाउन गरेको लगानी गुमाएकी उनलाई अहिले ऐलानी जग्गामा पैसा खर्चिनु गलत निर्णय रहेछ भन्ने लाग्न थालेको छ । ‘ऐलानी जग्गामा लगानी गरेकोमा अहिले पछुतो छ,’ उनी भन्छिन्, ‘फेरि कतिबेला घर भत्काउने हो, टुंगो छैन ।’
कुनै समय झुम्का–चतरा बस स्ट्यान्ड जानुकाको घरअगाडि थियो । बसको आवतजावत, यात्रुको भीड र किनमेल गर्ने मानिसको चहलपहलले यो क्षेत्र व्यस्त रहन्थ्यो । यात्रुको ओहोरदोहोरसँगै पसलहरूमा पनि कारोबार राम्रो हुन्थ्यो । तर, अहिले बस स्ट्यान्ड नहरको दक्षिणतर्फ सारिएको छ । बस स्ट्यान्ड स्थानान्तरण भएपछि पुरानो क्षेत्रमा व्यापारिक गतिविधि पनि घटेको छ । कुनै समय सम्भावनायुक्त चोकका रूपमा चिनिएको ठाउँ अहिले पहिलेको तुलनामा सुनसान देखिन्छ ।
जानुकाका लागि भने त्यो ठाउँ एउटा पुरानो बस्ती होइन । त्यहाँ उनको वर्षौंको मेहनत, गुमेको लगानी र विगतमा देखेको व्यावसायिक भविष्य जोडिएको छ । त्यसैले जोखिम थाहा हुँदाहुँदै पनि उनी फेरि त्यही ठाउँमा फर्किएकी छन् ।
लगानी गुमेपछि टिनको टहरामा जीवन जानुकाकोजस्तै अनुभव देवी थामीको परिवारले पनि भोगेको छ । उदयपुरबाट करिब २२ वर्षअघि झुम्का बसाइँ सरेको उनको परिवारले नयाँ ठाउँमा आर्थिक भविष्य बनाउने सपना देखेको थियो । उदयपुरमा रहेको जग्गाजमिन बेचेर प्राप्त रकमबाट उनले सिँचाइ आयोजनाको जग्गा तीन ठाउँमा किनिन् । यसका लागि करिब नौ लाख रुपैयाँ खर्च गरिन् ।
जग्गा किनेपछि देवीले दुईवटा पक्की घर बनाइन् । घर भाडामा लगाएर नियमित आम्दानीसमेत गर्न थालेकी थिइन् । नयाँ ठाउँमा गरेको लगानीले परिवारको आर्थिक अवस्था सहज हुने उनको अपेक्षा थियो । तर, १२ वर्षअघि सिँचाइ आयोजनाले दुवै घर भत्काइदिएपछि उनको सपना भत्कियो ।
अहिले उनी त्यही ठाउँमा टिनको टहरा बनाएर बसेकी छन् । विगतको लगानी सम्झँदा उनी आफूले जीवनकै ठूलो गल्ती गरेको महसुस गर्छिन् । ‘ऐलानी जग्गामा लगानी गरेर सबै जायजेथा सकियो, घर पनि भत्कियो, जीवनमै ठूलो गल्ती गरेँ,’ उनले भनिन्, ‘सिँचाइ आयोजनाको जग्गा बिक्री गर्ने दलाल पैसा कुम्ल्याएर कता गए, कता?’
उदयपुरको रामपुरबाट झुम्का आउँदा देवीको परिवारले नयाँ ठाउँमा आफ्नो भविष्य खोजेको थियो । जग्गा किनेर घर बनाउने र त्यसबाट आम्दानी गर्दै जीवन सहज बनाउने उनको योजना थियो । तर, अरूको स्वामित्वमा रहेको जग्गामा गरेको लगानीले अन्ततः उनलाई आर्थिक संकटमा पु¥यायो ।
देवीले जग्गा किनेको समयमा झुम्का–चतरा बस स्ट्यान्ड आसपासको क्षेत्र व्यावसायिक गतिविधिले भरिभराउ हुन्थ्यो । यात्रु र सर्वसाधारणको आवतजावत बाक्लो थियो । पसल र व्यवसायका कारण दिनभरि चहलपहल रहने त्यो क्षेत्र अहिले भने शान्त छ । बस स्ट्यान्ड पनि अन्यत्र सरिसकेको छ । विगतमा व्यापारबाट आम्दानी हुने आशामा घर बनाएकी देवी अहिले त्यही ठाउँमा टिनको टहरामा जीवन बिताइरहेकी छन् ।
अरूको आश्वासनमा डुबेको कमाइ नहरको ऐलानी तथा सार्वजनिक जग्गामा घर बनाएर बस्नेको संख्या सानो छैन । यस्तै मध्येकी भगवती बस्नेतले २०६२ सालमा एक लाख १५ हजार रुपैयाँ खर्चेर चार कोठे पक्की घर बनाएकी थिइन् । जग्गा बिक्री गर्ने व्यक्तिहरूले सिँचाइ आयोजनाले केही नगर्ने आश्वासन दिएपछि उनले त्यहाँ लगानी गर्ने निर्णय गरेकी थिइन् ।
जग्गा किनेर व्यवस्थित घर बनाएपछि उनले आफ्नो बसोबास सुरक्षित भएको ठानेकी थिइन् । तर, सिँचाइ आयोजनाले घर भत्काइदिएपछि उनको आशा निराशामा बदलियो । अहिले पनि त्यो घटनाले उनको मन अशान्त बनाइरहेको छ । ‘झुक्याउनेले झुक्याएर जीवन नै बर्बाद बनायो,’ उनले भनिन्, ‘जग्गा किन्दा सबैले राम्रो मात्र भन्थे ।’
नहर आसपास बसोबास गर्ने धेरै परिवार पहिले आर्थिक रूपमा कमजोर थिएनन् । उनीहरूमध्ये कतिपयसँग आफ्नै पुख्र्यौली सम्पत्ति र खेतीयोग्य जग्गा थियो । तर, नयाँ ठाउँमा राम्रो अवसर खोज्ने क्रममा उनीहरूले आफ्नो पुरानो जायजेथा बेचेर नहरको ऐलानी जग्गामा लगानी गरे । कसैले घर बनाए, कसैले पसल खोले त कसैले घर भाडामा लगाएर आम्दानी गर्ने योजना बनाए । अहिले भने धेरैजसोका लागि त्यो निर्णय पछुतोको विषय बनेको छ ।
बुढेसकालमा न घर फेर्ने सामथ्र्य, न सहारा नहर आसपासको बस्तीमा आर्थिक क्षति मात्र होइन, बुढेसकालको असुरक्षा पनि देखिन्छ । करिब ३५ वर्षअघि चितवनबाट पूर्व घुम्न आएका ६४ वर्षीय माझीगोले तामाङ र उनकी श्रीमती सुनमायाले झुम्कामा सस्तो जग्गा भेटेपछि यहीँ बस्ने निर्णय गरेका थिए । घुम्न आएका उनीहरू यही ठाउँमा रोकिए ।
समय बित्दै गयो, छोराछोरी हुर्किए र परिवारको जीवन यहीँ अघि बढ्यो ।
तर, अहिले बुढेसकालमा उनीहरूको अवस्था कठिन छ । माझीगोलेका दुवै मिर्गौला फेल भएका छन् भने श्रीमती सुनमाया अल्सरको बिरामी छिन् । यस्तो अवस्थामा उनीहरूलाई नियमित हेरचाह र सुरक्षित बसोबासको आवश्यकता छ । तर, अर्को ठाउँमा घर बनाएर बस्न सक्ने आर्थिक सामथ्र्य उनीहरूसँग छैन ।
माझीगोलेका दुई छोरा छन् । जेठा सोमबहादुर र कान्छा वीरबहादुर । दुवै चितवनतिर बस्ने र विदेशमा समेत रहेका उनीहरूबाट नियमित सम्पर्क तथा साथ नपाएको माझीगोले दम्पती बताउँछन् ।
नजिकै विवाह गरेर गएकी छोरी अहिले उनीहरूका लागि मुख्य सहारा बनेकी छन् । आफ्नै घरपरिवारको जिम्मेवारी सम्हाल्दै उनले आमाबुबाको हेरचाह गरिरहेकी छन् । जीवनको उत्तरार्धमा सुरक्षित बास र पारिवारिक सहारा आवश्यक पर्ने समयमा माझीगोले दम्पती भने आर्थिक असमर्थता र स्वास्थ्य समस्यासँग जुधिरहेका छन् ।
नहर किनारमा फैलिएको बस्ती विशेषगरी पूर्वी पहाडी जिल्लाहरू खोटाङ, भोजपुर, संखुवासभा, ताप्लेजुङ, पाँचथर, इलाम र तेह्रथुमका साथै पूर्वी तराईका ग्रामीण क्षेत्रबाट रोजगारी र सुविधाको खोजीमा सुनसरी–मोरङ क्षेत्रमा बसाइँ सर्ने परिवारमध्ये कतिपयले आफ्नो नम्बरी जग्गा बेचेर नहर आसपासको ऐलानी जग्गा किनेका छन् । उनीहरूले त्यहाँ घर तथा टहरा बनाएर बसोबास गर्दै आएका छन् ।
सुनसरी–मोरङ सिँचाइ आयोजनाको चतरा नहर आसपासका घरटहरा २०७१ सालमा भत्काइए पनि त्यसपछि फेरि त्यही क्षेत्रका कतिपय परिवारले घर बनाएर बसोबास गर्न थालेका छन् । यसले सार्वजनिक जग्गा अतिक्रमण हटाउने सरकारी प्रयास र त्यसपछि पुनः निर्माण हुने बस्तीबीचको समस्या देखाउँछ ।
सिँचाइ आयोजनाको तथ्याङ्कअनुसार नहर क्षेत्र अतिक्रमण गरी कुल एक हजार ७७४ वटा घर निर्माण भएका छन् । तीमध्ये चतरा मूल नहर आसपास मात्रै २८४ वटा घर छन् ।
आयोजनाको विवरणअनुसार सुखसेना शाखा नहर क्षेत्रमा १७०, हरिपुर उपशाखा नहरमा २२, रामधुनी उपशाखा नहरमा २६, मानिकचौरी उपशाखा क्षेत्रमा २० र सिंगिया उपशाखा नहरमा ९३ वटा घर निर्माण भएका छन् ।
यता शंकरपुर शाखा नहर क्षेत्रमा १२७, धनबहादुर माइनर नहर क्षेत्रमा ६१, इनरुवामा ३५, होलैयामा ४६, बबियामा ६३ र गौतमपुर क्षेत्रको नहरमा ८१ वटा घर रहेको तथ्याङ्कमा उल्लेख छ ।
एसएसजे झुम्का उपशाखा नहर क्षेत्रमा ५२, विश्रामपुरमा २४, सीतागज नहर क्षेत्रमा २०९, रामगज शाखा नहरमा २५४ र दुहवी क्षेत्रमा १८० वटा घर निर्माण भएका छन् ।
आयोजनाका सिनियर डिभिजन इन्जिनियर तेज रिजालका अनुसार नहर क्षेत्रमा निर्माण भएका यी घरले कुल ८१ बिघा चार कट्ठा १५ धुर जग्गा ओगटेका छन् । यसबाट नहरका लागि छुट्याइएको जग्गाको ठूलो हिस्सा घरटहरा निर्माणमा प्रयोग भएको देखिन्छ ।
नहर जोगाउने प्रयास, फेरि दोहोरिएको अतिक्रमण सुनसरी र मोरङका खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पु¥याउने उद्देश्यले निर्माण गरिएको सुनसरी–मोरङ सिँचाइ आयोजनाको चतरा नहर २०१८ सालमा निर्माण भएको थियो । समयसँगै नहर आसपास घरटहरा बढ्दै गएपछि नहर साँघुरिने र सिँचाइ प्रणाली प्रभावित हुने समस्या देखिएको थियो ।
नहर साँघुरिँदा कृषि उत्पादनमा असर पर्ने जोखिमलाई ध्यानमा राख्दै २०७१ सालमा नहर फराकिलो बनाउने काम गरिएको थियो । त्यस क्रममा नहर अतिक्रमण गरी बनाइएका घरटहरा हटाउन छ करोड रुपैयाँ खर्च गरिएको थियो । त्यसबेला नहरको क्षेत्र विस्तार गर्ने कामसँगै अतिक्रमित संरचना भत्काइएको थियो ।
तर, घरटहरा हटाइएको वर्षपछि पनि नहर आसपासको अतिक्रमण समस्या समाधान हुन सकेन । केही परिवार फेरि त्यही ठाउँमा फर्किएर बसोबास गर्न थाले । यसले एकपटक संरचना हटाएर मात्र दीर्घकालीन समाधान सम्भव नहुने देखाएको छ ।
आयोजनाका अनुसार ५३ किलोमिटर लामो नहर आसपास पुनः निर्माण भएका घरटहरा हटाउने विषयमा अहिलेसम्म ठोस योजना बनिसकेको छैन । यद्यपि, नहरको जग्गामा निर्माण भएका संरचनाको भविष्य अनिश्चित छ ।
जानुका, देवी, भगवती र माझीगोलेका परिवारका कथा यही अनिश्चितताका फरक–फरक रूप हुन् । कसैले वर्षौंको कमाइ गुमाएका छन्, कसैले बुढेसकालमा सुरक्षित बास गुमाउने डर बोकेका छन् । उनीहरूलाई जग्गा बेचेर पैसा कुम्ल्याउनेहरू कहाँ छन् भन्ने पनि थाहा छैन ।
नहरको जग्गामा घर बनाउनु कानुनी रूपमा सुरक्षित नभए पनि मानिसहरू त्यहाँ पुगेर लगानी गर्ने अवस्थासम्म किन आइपुग्छन् भन्ने प्रश्नको जवाफ खोज्नु उत्तिकै आवश्यक छ । सार्वजनिक जग्गा अतिक्रमण रोक्नु राज्यको दायित्व हो । त्योसँगै जग्गाको स्वामित्वबारे स्पष्ट जानकारी दिने, बिचौलियाबाट हुने सम्भावित ठगी नियन्त्रण गर्ने र वास्तविक समस्यामा परेका परिवारका लागि वैकल्पिक व्यवस्थाबारे सोच्ने जिम्मेवारी पनि राज्यकै हो ।
अन्यथा, नहर फराकिलो पार्न र किनाराको अवरोध हटाउन घर भत्काउने र केही वर्षपछि त्यही ठाउँमा फेरि घरटहरा थपिने चक्र दोहोरिरहनेछ । नहरको संरक्षण र नागरिकको सुरक्षित आवास दुवैलाई सम्बोधन गर्ने दीर्घकालीन नीति नबन्दासम्म ऐलानी जग्गाको यो कथा टुंगिने छैन ।
















Discussion about this post