विराटनगर : कोशी प्रदेशमा नेपालीबाहेकका भाषालाई पनि सरकारी कामकाजमा प्रयोग गर्ने कानुनी व्यवस्था आगामी कात्तिक २५ गतेदेखि कार्यान्वयनमा आउने भएको छ ।
प्रदेश सरकारले उक्त दिनलाई ‘कोशी प्रदेश भाषा दिवस’ घोषणा गर्दै सरकारी कामकाजको भाषा ऐन लागू गर्ने निर्णय गरेको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले १६औँ राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको १४१औँ जन्मजयन्तीका अवसरमा ऐन कार्यान्वयनमा ल्याउने निर्णय गरेको हो ।
आन्तरिक मामिला तथा कानुनमन्त्री गोम्बु शेर्पाका अनुसार ऐन कार्यान्वयनको सुरुवातसँगै प्रदेशभरका सरकारी कार्यालयमा दीपावली गरिनेछ । नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह तथा सुरक्षा निकायका कार्यालयमा दीपावली गर्ने निर्णय भएको उनले जानकारी दिए ।
प्रदेश सरकारले राजनीतिक दल, गैरसरकारी संस्था र नागरिक समाजलाई पनि उक्त दिन दीपावली गरी भाषा दिवस मनाउन आह्वान गरेको छ ।
यसअघि प्रदेशसभाबाट सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मत रूपमा पारित भएको थियो । ऐन कार्यान्वयनमा आएसँगै कोशी प्रदेशको भाषिक विविधतालाई सरकारी कामकाजमा स्थान दिने बाटो खुल्ने अपेक्षा गरिएको छ ।
यसैबीच मन्त्रिपरिषद् बैठकले प्रदेश सरकार कार्यविभाजन नियमावलीको पहिलो संशोधन स्वीकृत गरेको छ ।
पर्यटकीय पूर्वाधार सञ्चालन, व्यवस्थापन तथा हस्तान्तरणसम्बन्धी कार्यविधिलाई भने थप छलफलका लागि मन्त्रिपरिषद्को आर्थिक, सामाजिक तथा पूर्वाधार समितिमा पठाउने निर्णय गरेको छ ।
















Discussion about this post