इटहरी : क्यानाडाको टोरेन्टो विश्वविद्यालयबाट साहित्यमा पीएचडी गरेको हुँ भन्दै ठगी गर्ने एकजनालाई सुनसरी प्रहरीले पक्राउ गरेको छ ।
डा. रामबली कुमार सिंह नाम बताउँने, जिल्ला धनुषा गणेशमान चारनाथ नगरपालिका ८ घर भएका वास्तविक नाम रामबली कुमार दनुवारले गरीब विपन्न मानिसलाई ठगी गर्ने गरेको सूचनाका आधारमा पक्राउ गरिएको सुनसरी प्रहरीले जनाएको छ ।
कक्षा १० मात्रै पास भएका उनले गरीब र विपन्न बर्गहरुलाई लक्षित गरी क्यानडाको तिलिजा रोवर्ट नामको संस्थासंग समन्वय गरी विभिन्न कार्यक्रमहरु सन्चालन गरिदैँछ भनेर सर्वसाधरणमा भ्रम छरेको र कार्यक्रमहरु सन्चालनका लागि सरस्वती सिलाई प्रशिक्षण केन्द्र स्थापना गरी गठी गर्ने गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रमुख एसपी कमल थापाले बताए ।
रुपन्देहीमा दर्ता नं. ५९१६ स्थापना गरेको भनि यही संस्थाको नामबाट सप्तरीको महुली (जण्डोल), सुनसरीको इनरुवा नगरपालिका १, महोत्तरीको गौसाला मिगोल, सिरहा र धनुषा महेन्द्रनगरमा संस्थाको शाखा स्थापना गरी सिलाई बुनाई, साबुन बनाउने, मैन वत्ती बनाउने, राहत वितरण गर्ने नाममा सर्बसाधरणलाई ठगी गरेको पाईएको प्रहरीले जनाएको छ ।
आँफू कम्पनीको महानिर्देशक रहेको र एक लाख डलर तलव भएको भन्दै कीर्ते कागज बनाएर ठगी गर्ने गरेको सुनसरी प्रहरीले जनाएको छ ।
तालिम सन्चालनका लागि समूह निर्माण गर्ने र सदस्यता दस्तुर बापत एक सय विपन्न गरीब वर्गका मनिसहरुलाई लगातार प्याकेजमा राहत वितरण गर्ने तथा वैदेशिक राहत समेत उपलब्ध गराउने भनि प्रत्येक व्यक्तिबाट एक हजारका दरले उठाउने गरेको प्रहरीले जनाएको छ ।
सुनसरीको इनरुवा नगरपालिका १ मा घर भाडा लिई संस्थाको शाखा कार्यालय स्थापना गरेको, ३७ जना कर्मचारी नियुक्ती गरी एक हजार १९७ जनालाई सीप तथा राहत वितरणका नाममा ठगी गरिरहेको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीको टोलीले राहत रजिष्टर, फायल, प्रशिक्षण केन्द्रको लेटरप्याड, बिभिन्न कर्मचारीलाई दिईएको नियुक्ती पत्र, बिभिन्न ब्यक्तिको नागरिकता लगायतका कागजात सहित निज रामबली कुमार सिंह (दनुवार) लाई पक्राउ गरिएको हो ।
पक्राउ परेका उनीमाथि सुनसरी जिल्ला अदालतबाट ठगी मुद्दामा म्याद थप गरी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post