धरान : धरानमा गत जेठ अन्तिम साता कोरोनाविरुद्धको खोप भेरोसेलको पहिलो मात्रा लगाएकाहरुलाई दोश्रो मात्राको खोप लगाइने भएको छ ।
सोमबार धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाले पत्रकार सम्मेलन गर्दै असार २२ र २३ गते दुई दिन भेरोसेलको दोस्रो मात्रा लगाउने जानकारी दिएको हो । स्वास्थ्य महाशाखाले जानकारी दिए अनुसार धरानको ३ स्थानमा खोप केन्द्र तोकिएको छ । धरानको छाताचोकस्थित स्वास्थ्य चौकी, धरान १५ स्थित श्याम चोक सेवा समाजको भवन र धरान १८ स्थित कार्मेल हाईस्कुलमा खोप केन्द्र रहनेछन् ।
स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार तोकिएको खोप केन्द्रमा बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म सञ्चालन हुनेछ । प्रमुख मेहताले गत जेठ २५, २६ र २७ गते भेरोसेलको पहिलो मात्रा लगाएकाहरुलाई मात्र दोस्रो मात्राको खोप दिइने जानकारी दिए ।
गत जेठ अन्तिम साता सञ्चालन गरिएको खोप अभियानमा ६० देखि ६४ वर्ष उमेर समूहकालाई भेरोसेलको पहिलो मात्रा लगाइएको थियो । यस्तै, अन्य लक्षित समूहलाई पनि दिइएको थियो । यसपटक भने ज्येष्ठ नागरिकहरुलाई सहज बनाउनका लागि अलग्गै लाइनको व्यवस्था गरिने उनले बताए । गत जेठमा खोप अभियानको क्रममा २ हजार १ सय ४४ जनाले भेरोसेल खोपको मात्रा लगाएका थिए ।
त्यसबाहेक थप २ सय जनालाई पनि भेरोसेल खोप दिइएको थियो भने उनीहरुलाई दोश्रो मात्राको भेरोसेल खोपपछि लगाईने स्वास्थ्य महाशाखाले जनाएको छ । स्वास्थ्य महाशाखा प्रमुख मेहेताले असार २२ र २३ गते दुईदिन लगाइने खोप अभियानमा २ हजार १ सय ४४ जनालाई मात्र दोश्रो मात्राको भेरोसेल खोप लगाइनेछ । भेरोसेल खोपको पहिलो मात्रा कुन स्थानमा गएर लगाएका थिए ।
उनीहरुले यसपटक जादाँ अनिवार्य खोप कार्ड लिएर त्यहि ठाउँमा गएर खोप लगाउनुपर्ने स्वास्थ्य महाशाखाले जनाएको छ । स्वास्थ्य महाशाखाका अनुसार कोभिसिल्डको पहिलो मात्रा लगाएकाहरुलाई पनि सरकारले चाडै दोस्रो खोपको व्यवस्था गर्ने जनाएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय सुनसरीका अनुसार सुनसरीमा यसअघि १३ हजार २ सय ३१ जनाले भेरोसेलको पहिलो मात्रा लगाएका थिए । असार २२ र २३ गते ती मध्ये ५ हजार ७ सय २० जनालाई दोस्रो मात्रा लगाइने छ भने बाँकी रहेकालाई अर्को चरणमा लगाइने जनाएको छ ।














Discussion about this post