इटहरी : स्वास्थ्य प्रवर्द्धन, वातावरण संरक्षण र सामाजिक उत्तरदायित्वलाई एउटै अभियानमार्फत जोड्ने उद्देश्यसहित आयोजना हुन लागेको ‘तरहरा कोरा २०२६’ मा यस वर्ष ६ सयभन्दा बढी साइकलयात्री सहभागी हुने भएका छन्।
आयोजकका अनुसार यो कार्यक्रम साइकल यात्रा नभई स्वास्थ्य, पर्यटन र सामाजिक सेवाको साझा अभियानका रूपमा स्थापित हुँदै गएको छ।
तरहरा साइक्लिङ क्लबले यही शनिबार (साउन ९) आयोजना गर्ने पाँचौँ संस्करणको च्यारिटी राइडका लागि हालसम्म ५३५ जनाले दर्ता गरिसकेका छन्। पहिलो संस्करणमा करिब तीन सय सहभागी रहेको कार्यक्रममा हरेक वर्ष सहभागिता बढ्दै गएको क्लबका कार्यक्रम संयोजक मदन बस्नेतले जानकारी दिए।
यस वर्ष संकलित च्यारिटी रकम स्वास्थ्य र शिक्षाको क्षेत्रमा खर्च गरिनेछ। सहभागीहरूले तरहरा चोकबाट २६.१ किलोमिटर साइकल यात्रा गर्दै जनसहयोग माध्यमिक विद्यालयमा समापन गरिनेछ।
कार्यक्रम बिहान ५ः३० बजे सहभागीहरूको उपस्थितिसँगै सुरु हुनेछ। बिहान ६ः३० बजे औपचारिक उद्घाटनपछि ६ः४५ बजे तरहरा चोकबाट च्यारिटी राइड सुरु हुने आयोजकले जनाएको छ।
कार्यक्रममा सहभागीमध्ये एक जनाले लक्की ड्रमार्फत साइकल उपहार पाउने व्यवस्था गरिएको छ। साथै, मेडिकल सपोर्ट, एम्बुलेन्स, स्वास्थ्यकर्मी, ट्राफिक सुरक्षा, स्काउट स्वयंसेवक तथा विभिन्न सामाजिक सचेतनामूलक कार्यक्रमसमेत सञ्चालन गरिने आयोजकले जनाएको छ।
आयोजकका अनुसार ‘तरहरा कोरा’ को मुख्य उद्देश्य साइकल संस्कृतिको विकास, कार्बन उत्सर्जन न्यूनीकरण, इन्धनरहित यातायातको प्रवर्द्धन, स्थानीय सम्पदाको प्रवर्द्धन तथा स्वस्थ र वातावरणमैत्री जीवनशैलीलाई प्रोत्साहन गर्नु हो।
















Discussion about this post