इटहरी : प्रथम सोनापुर गोल्डकप फुटबल प्रतियोगिताको उपाधी पूर्वाञ्चल युनाइटेड क्लब सुन्दरहरैँचाले चुमेको छ ।
आज (सोमबार) सम्पन्न फाइनल खेलमा आयोजक मेमोरी युवा क्लबलाई पेनाल्टी सुटआउटमा ४–३ गोल अन्तरले पराजित गर्दै पूर्वाञ्चल युनाइटेडले उपाधी जितेको हो ।
उपाधीसंगै पूर्वाञ्चलले नगद १ लाख रुपैँया र शिल्ड हात पारेको छ भने उपबिजेता आयोजक मेमोरी युवा क्लबले नगद ५१ हजार रुपैँयामा चिक्त बुझाएको छ ।
सुनसरीको दुहबी ८ सोनापुरमा आयोजित प्रतियोगिता अन्तर्गत आज सोमबार भएको फाइनल खेलमा निर्धारित ९० मिनेटको खेलमा दुवै टिमले २–२ गोलको बराबरी खेलेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको हो ।
पेनाल्टीमा आयोजक क्लबको तर्फबाट उमेश कार्की, विवेक पौडेल र दिपेश माझीले मात्र गोल गरे । विक्रम राईको प्रहार युनाइटेडका गोल किपर रोशन कार्कीले बचाएका थिए भने सुवोध शाहीको प्रहार बाहिरिएको थियो । पूर्वाञ्चलका मिलन राई, सन्देश श्रेष्ठ, अशिम राई र सुजन चौधरीले गोल गर्न सफल हुँदा आयोजक उपबिजेतामै सीमित बनेको हो ।
त्यसअघि खेलको १२ औं मिनेटमा आयोजकका पारस लिम्बूले गोल गरेर आफ्नो टिमलाई अग्रता दिलाएका थिए । खेलको ३५ औं मिनेटमा पूर्वाञ्चलका सुजन चौधरीले गोल गरेर खेल १–१ को बराबरीमा ल्याए ।
खेलको ५५ औं मिनेटमा आयोजकका राजु लिम्बुले गोल गरेर पुनः आफ्नो टिमलाई २–१ को अग्रतामा पुर्याएको अवस्थामा त्यसको ५ मिनेट नबित्दै पूर्वाञ्चलका अरुण लिम्बूले गोल गरी खेललाई २–२ को बराबरीमा पुर्याए ।
त्यसपछि दुवै टिमबाट गोल नभएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको हो ।
फाइनल खेलको म्यान अफ द म्याच पूर्वाञ्चल युनाइटेडका मिलन राई घोषित हुँदै नगद दुई हजार पाए । प्रतियोगिताको उत्कृष्ट खेलाडी आयोजक मेमोरी युवा क्लबका उमेश कार्की घोषित हुँदै नगद पाँच हजार रुपैँया पाए । वेष्ट गोलकिपर पुर्वाञ्चलका रोशन कार्की, मिडफिल्टर विवश गुरुङ, कोच पवन प्रधान घोषित भए ।
आयोजकका बिकु राई बेष्ट डिफेन्स, सुजित चौधरी राइजिंग प्लेयर घोषित भए । उनीहरू सबैले जनही तीन हजार पाँच सय रुपैँया पाए । प्रतियोगितामा हाईस्कोर गर्ने पूर्वाञ्चलका अभिषेक कालिकोटे र डागीहाट फुटबल क्लबका आदर्श लिम्बूले जनही चार हजार रुपैँया पाए ।
सुनसरी र मोरङका ८ टिम सहभागी गोल्डकप पुष २६ गतेदेखि सुरु भएको थियो ।












Discussion about this post