सुनसरी : परम्परागत खेती किसानीभन्दा केही अलग र नयाँ गरेर पनि आर्थिक समृद्धिको शिखर चुम्न सकिन्छ भन्ने गतिलो उदाहरण बनेका छन्, सुनसरीको हरिनगर गाउँपालिका–३, गौतमपुरका रामेश्वर मेहता ।
कसैले नामसमेत राम्ररी नसुनेको विदेशी फल ‘ड्रागन फ्रुट’ खेतीमा छ वर्षअघि हात हालेका रामेश्वरले यसैको कमाइबाट अहिले आफ्नो पारिवारिक आर्थिक अवस्था मात्र फेरेका छैनन्, समाजमा एक सफल कृषकको रूपमा छुट्टै पहिचानसमेत बनाएका छन् ।
सुरुआती जोखिम र पाँच कट्ठाबाट विस्तार
चितवनको रामपुर क्याम्पसबाट बिएससी एजी (कृषि विज्ञान) अध्ययनरत छोराको प्रेरणा र सल्लाहमा रामेश्वरले ६ वर्षअघि करिब आठ लाख रुपैयाँ लगानी गरेर यो व्यवसायको बीजारोपण गरेका थिए । सुरुमा कसैले विश्वास नगरेको यो अनौठो खेती उनले पाँच कट्ठा जग्गाबाट सुरु गरेका थिए ।
पहिलो वर्ष उत्पादन राम्रो नभएपछि जम्मा ६० हजार रुपैयाँ मात्र आम्दानी भयो । दोस्रो वर्ष दुई लाख आम्दानी लिँदै तेस्रो वर्षमा त उनले आफ्नो सम्पूर्ण लगानी उठाइसकेका थिए ।
हाल यो खेती बढेर आठ कट्ठामा फैलिएको छ भने उनले यसबाट वार्षिक ३ देखि ४ लाख रुपैयाँसम्म शुद्ध आम्दानी गर्दै आएका छन् ।
शुरुवातमा नौलो फल भएकाले बजार पाउन गाह्रो हुन्छ कि भन्ने चिन्ता थियो, तर अहिले रामेश्वरका लागि बजारको कुनै समस्या छैन । नजिकैका सहरहरू इनरुवा, विराटनगर, इटहरीदेखि सीमावर्ती भारतीय बजारका व्यापारीहरूसमेत उनको बगैँचामा पुग्ने गरेका छन् ।
घरबाटै लैजाने ठूला व्यापारीलाई प्रतिकेजी तीन सयदेखि तीन सय ५० रुपैयाँमा बिक्री गर्ने उनी आफैँ बजारसम्म पुर्याउँदा प्रतिकेजी चार सय रुपैयाँसम्ममा फलाएका दानाहरू बिक्री गर्छन् ।
सन्तानको उच्च शिक्षा र पक्की घर
ड्रागन फ्रुटको कमाइले रामेश्वरको जीवनमा कायापलट ल्याएको छ । यसै पेसाको आम्दानीले उनले यस वर्ष चार कोठे आधुनिक पक्की घरसमेत निर्माण गरिरहेका छन् । अझ गर्वको कुरा त के छ भने, कृषि कर्मबाट आर्जित यही आम्दानीले उनका सन्तानहरूलाई उच्च शिक्षा दिलाउन उनी सफल भएका छन् ।
उनका छोरा अमेरिकामा कृषि विषयमै स्नातकोत्तर (मास्टर्स) अध्ययनरत छन् भने जेठी छोरी पाख्रीबास (धनकुटा)मा बिएससी एजी र कान्छी छोरी हाल एमबीबीएसको तयारीमा जुटीरहेकी छिन् ।
गाउँघरमा नौलो र जोखिमपूर्ण मानिएको खेतीमा सफलता हासिल गरेर रामेश्वरले प्रमाणित गरिदिएका छन् कि, यदि दृढ संकल्प र सही मार्गदर्शन भयो भने माटोमा नै सुन फलाउन सकिन्छ ।
गौतमपुर र हरिनगर मात्र होइन, अहिले उनी समग्र जिल्लामै ड्रागन किसानका रूपमा परिचित छन् ।
भिडियो
















Discussion about this post