इटहरी : निर्माणाधीन रानी–विराटनगर–इटहरी–धरान ६ लेन सडकखण्ड अन्तर्गत तरहरादेखि रानीसम्म एक महिनाभित्र सडक सम्पन्न हुने तयारी अनुसार काम तीब्र पारिएको छ ।
विराटनगरको रानीदेखि इटहरीको तरहरासम्म करीब ३७ दशमलव चार किमी सडक हाल निर्माणको काम तीब्र पारिएको हो ।
करीब ३७ दशमलव चार किमी सडक सम्पन्न गरिसक्न झण्डै छ अर्ब बढीको लागतमा निर्माण गर्ने गरी आठ वर्षअघि ठेक्का लागेको थियो । पाँच वर्षभित्रमा निर्माण कार्य सम्पन्न हुने गरी लागेको ठेक्का अहिलेसम्म पनि पूर्ण रुपमा निर्माण हुन सकेको छैन ।
६ लेन सडक परियोजनाका प्रमुख बद्री प्रसाद शर्माका अनुसार सुनसरीको दुहबी बजार क्षेत्र र सुनसरीकै दुहबीस्थित बूढी खोलामा निर्माण हुने पुल कहिलेसम्म सम्पन्न हुनेभन्नेबारे एकिन छैन ।
यद्यपि, दुहबीमा ६ लेन सडक विस्तारका क्रममा दुई सातअघि बल प्रयोग गरिएको छ । नगरपालिकाले दुहबी बजारको मुख्य भागदेखि उत्तर र दक्षिणतर्फ बल प्रयोग गरेर घर–टहरा भत्काउन थालेको हो । बजार क्षेत्रसँगै आसपासको जग्गा खाली गर्न दिएको अन्तिम समय सकिएपछि बल नै प्रयोग गरेर टहरा हटाउन थालिएको हो ।
जग्गा खाली गर्ने क्रममा स्थानीयवासीले अवरोध गर्ने प्रयास गरेपछि वडा नं. ५ र ६ का वडा अध्यक्षले नेतृत्व गरेर प्रहरीको बाक्लो उपस्थितीमा डोजर प्रयोग गरि भत्काइएको छ ।
दुहबी बजारको उत्तर–दक्षिणको केही भागमा भने १५–१५ फिट विस्तार गर्दा जग्गा पुगेको छैन ।
मुख्य बजार क्षेत्रमा भने सडक विस्तार नगर्ने टुंगो लागेको छ । तर, तोकिएको जग्गा अपुग भएकाले गर्दा त्यसमा पनि खाली गराइने भएको छ । इटहरीदेखि तरहरासम्मको बाटो हाल निर्माणको काम करीब सकिएको आयोजनाले जनाएको छ ।
सडकको चौडाइ बढेपनि इटहरीमा सवारी चापका कारण भने समस्या हुने गरेको स्थानीय बताउँछन् ।












Discussion about this post