धरान : १० औं धरान रन नेवा च्यारिटी १० किमी २०७८ व्यवस्थित रुपमा सम्पन्न गर्न नगरपालिका, सुरक्षा निकायहरु र आयोजक सबैले आ आफ्नो ठाउँबाट लागि पर्ने प्रतिवद्धता जनाएको छ ।
आज (शुक्रबार) मेयर तिलक राईको अध्यक्षतामा इलाका प्रहरी कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालय, शसस्त्र प्रहरी बल, नगर प्रहरी र धरान रन समूहका प्रतिनिधिसहित बसेको छलफलले यस्तो प्रतिवद्धता जनाएको हो ।
छलफलमा आयोजक धरान रन समूहले हालसम्मको तयारी र दौडको रुटको बारेमा जानकारी गराएको थियो ।
१० औं धरान रन नेवा च्यारिटी १० किमी २०७८ भोलि (शनिबार) आयोजना हुँदैछ । धरान रनमा पहिलो पटक ह्वील चियर रेस हुने भएको छ । शनिबार बिहान ६ बजेर ४५ मिनेटमा ह्वील चियर रेस सुरु गरिने धरान रन समूहका अध्यक्ष रमु राईले छलफलमा जानकारी गराए ।
उनका अनुसार ह्वील चियर रेस भानुचौकबाट पुतली लाईनको पुलसम्म हुनेछ । त्यसपछि साढे ७ बजे १६ वर्ष उमेर समूहदेखि माथिका मेन ईभेन्ट (१० किमि रन) हुनेछन् । मेन इभेन्ट सुरु भएको १० मिनेटपछि १२ वर्ष मूनिका बालबालिकाहरु दौड हुनेछ ।
उनीहरूले भानुचौकदेखि दुर्गा चौकसम्म दौडिएर पुनः फर्किने धरान रन समूहका अध्यक्ष राईले बताए ।
छलफलमा आयोजकले ४ वटा एम्बुलेन्स, दुई वटा स्वीपर बस र २५० भन्दा बढी भोलेन्टियर खट्ने उनले जानकारी दिए । मेयर राईले १० औं धरान रन सफल बनाउन नगरपालिका र सुरक्षा निकायहरुले महत्वपूर्ण भूमिका निर्वाह गर्ने पनि प्रतिवद्धता व्यक्त गरे ।
भोलि बिहान भानुचौकबाट सुरु भई पुतली लाईन, दुर्गा चौक, बुद्ध चौक, रत्न चौक, मंगलबारे, कल्याण चौक, पानी टंकी, गणेशमान चौक, रंगशाला हुँदै जिरो प्वाईन्ट, अमरहाट, रेडक्रस भवन, हात्तीसार, विजयपुर चौक, पिण्डेश्वर मन्दिर, चिनियाँ चौक, पुरानो बजार देशीलाईन हुँदै पुनः भानुचौकमा आएर समापन हुनेछ ।












Discussion about this post