सुनसरी : कृषि कर्ममा नयाँ प्रयोग र निरन्तरको मेहनतले कसरी सफलता ल्याउँछ भन्ने गतिलो उदाहरण बनेका छन्, सुनसरीको हरिनगर गाउँपालिका–३, गौतमपुरका कृषक रामेश्वर मेहता।
एलिसा कृषि फार्म सञ्चालन गर्दै आएका उनले ६ वर्षअघि सुरु गरेको ड्रागन फ्रुट खेतीको खाली ठाउँ र बोटबीचको खाली जमिनको सदुपयोग गर्दै सुरु गरेको सयपत्री फूल खेती अहिले जिल्लामै एक आकर्षक व्यावसायिक पहिचान बन्न पुगेको छ।
घुसुवा खेतीबाट व्यावसायिक विस्तार
शुरुवातमा ड्रागन फ्रुटको बोटबीचको खाली ठाउँमा घुसुवा (जुगाड)खेतीका रूपमा सयपत्री लगाएका मेहताले जब थाईल्याण्डबाट आयातित कर्मा ५५५ जातको सयपत्री फूलबाट सोचेभन्दा बढी प्रतिफल पाउन थाले, तब यसको दायरा फराकिलो बनाए।
अहिले उनले ड्रागन खेती बाहिरको जमिनसमेत समेटेर करिब पाँच कट्ठा क्षेत्रफलमा व्यावसायिक रूपमै सयपत्री फूल विस्तार गरेका छन्।
तिहार र छठ पर्वमा आकर्षक आम्दानी
विशेषगरी नेपालीहरूको महान चाड तिहार र छठलाई लक्षित गरेर उत्पादन गरिने यो फूलबाट उनले एकै सिजनमा अढाईदेखि तीन लाख रुपैयाँसम्म शुद्ध आम्दानी गर्ने गरेका छन्।
चाडपर्व नजिकिँदै जाँदा धरान, इटहरी, विराटनगर र इनरुवाका स्थानीय व्यापारीहरू फूलको अर्डरका लागि बगैँचामै पुग्ने गरेका छन्।
परिमाण धेरै भएको बेला माग अनुसार घरसम्मै डेलिभरी गर्ने गरेको र आवश्यकता पर्दा आफैँ बजार लगेर बिक्री गर्ने गरेको उनी बताउँछन्। माग उच्च भएकाले बजारको कुनै समस्या नभएको उनको अनुभव छ।
मौसम र बाढीको चुनौती चिर्दै सफलता
गत वर्ष बाढीका कारण फूल उत्पादनमा केही प्रतिकूल असर परे पनि यस वर्ष मौसमले राम्ररी साथ दिएको कृषक मेहता बताउँछन्।
ड्रागन फ्रुटको मुख्य उत्पादनसँगै फूल खेतीबाट पनि अतिरिक्त र भरपर्दो आम्दानी हुन थालेपछि उनको पारिवारिक आर्थिक स्थिति अझ सुदृढ भएको छ।
एउटै जग्गामा बहुउपयोगी र समन्वयात्मक कृषि प्रणाली अपनाएर रामेश्वरले तराईको माटोमा कृषि उद्यमशीलताको उत्कृष्ट नमुना प्रस्तुत गरेका छन्।
भिडियो :-
















Discussion about this post