इटहरी : इटहरी र सुन्दरहरैँचाका बासिन्दालाई जोड्ने धार्मिक तथा सांस्कृतिक उत्सवका रूपमा बुढीगंगा–जमुना मुक्तिधामको छठ पर्व विस्तार हुँदै गएको छ।
दुई स्थानीय तहको सीमामा रहेको मुक्तिधाममा यस वर्ष ६५० भन्दा बढी पूजा घाट निर्माण गरिँदैछ।
तीन दशकभन्दा लामो समयदेखि सामूहिक रूपमा छठ मनाइँदै आएको यस क्षेत्रमा पछिल्लो समय भक्तजनको सहभागिता र पर्वको व्यवस्थापनलाई थप व्यवस्थित बनाउने प्रयास भइरहेको छ।
छठ पर्व सेवा समितिले मंगलबार पत्रकार सम्मेलन गरी यस वर्षको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ। पर्वमा सहभागी हुने भक्तजनको सहजता र सुरक्षालाई ध्यानमा राखेर स्वयंसेवकदेखि स्वास्थ्य तथा नागरिक सहायता सेवासम्मको व्यवस्था मिलाइएको समितिले जनाएको छ।
पर्व व्यवस्थापनका लागि एक सय स्वयंसेवक र २५ सुरक्षागार्ड परिचालन गरिनेछ। भक्तजनका लागि निःशुल्क महाप्रसाद, प्राथमिक उपचार, नागरिक सहायता कक्ष, अस्थायी शौचालय तथा चियापानीको व्यवस्था गरिनेछ। आवतजावत सहज बनाउन चार स्थानमा अस्थायी पुलसमेत निर्माण गरिने समितिको तयारी छ।
यस वर्ष छठ पर्व व्यवस्थापनमा २९ लाख ५१ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।
इटहरी र सुन्दरहरैँचाका बासिन्दाले संयुक्त रूपमा मनाउँदै आएको यो पर्व पछिल्लो समय धार्मिक आस्थासँगै सामाजिक सद्भाव र सांस्कृतिक एकताको साझा थलो बन्दै गएको समितिको भनाइ छ।
मुक्तिधाममा ३६ वर्षदेखि व्यवस्थित रूपमा छठ मनाइँदै आएको छ।
पाँच दिनसम्म चल्ने छठ पर्वमा व्रतालुहरूले अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ दिएर पूजा सम्पन्न गर्नेछन्। सूर्य उपासनासँग जोडिएको यस पर्वमा विभिन्न स्थानबाट भक्तजन मुक्तिधाम पुग्ने अपेक्षा गरिएको छ।
















Discussion about this post