इटहरी : नेपाल प्रेस युनियन सुनसरी शाखा अन्तरगत इटहरी उपमहानगर समितिले ‘युथ कंग्रेस कन्क्लेभ’ कार्यक्रम आयोजनाको तयारी गरेको छ ।
नेपाली कांग्रेसका स्थानीय युवा नेताहरूको विचार र भिजन प्रस्तुत हुने कार्यक्रम चैत १९ गते शनिवार इटहरीको दुर्गा पार्टी प्यालेसमा आयोजना हुने भएको हो ।
प्रेस युनियन इटहरी संयोजक विनय बाह्रकोटीका अनुसार दिउँसो १ बजेबाट सुरु हुने कार्यक्रममा सात वटा विषयमा यहाँका स्थानीय नेताहरूको प्रस्तुति हुनेछ । नेताहरूको लगाव र क्षमताको आधारमा बिषयबस्तु उपलब्ध गराइएको उनले बताए ।
उनका अनुसार इटहरी उपमहानगरपालिका भित्रको सरोकारका विषयमा युवा नेताहरूले रिपोर्ट प्रस्तुत गर्नेछन् ।
जसमा इटहरीको शैक्षिक उन्नयनको बिषयमा युवा नेता प्रदीप केसी, महिला तथा समावेशीताको सवालमा निर्मला चौधरी, प्रविधिमैत्री सहर विषयमा मन्दीप भट्टराई, आर्थिक समृद्विका आधारहरू विषयमा विक्रम घिमिरे, सामाजिक लोकतन्त्रका सवालहरू विषयमा सुबेक्छु देवान, व्यवस्थित स्वास्थ्य सेवा विषयमा सन्दीप पौडेल र कला साहित्यको विषयमा रङ्गकर्मी सोनु जयन्तीले रिपोर्ट प्रस्तुत गर्नेछन् ।
यस्तै, वडाका युवा नेताहरूले वडास्तरीय समस्या राख्ने कार्यक्रम रहेको छ भने युवाहरूको रिपोर्ट र समस्या पहिचानको आधारमा इटहरी कांग्रेसबाट मेयरका दाबेदारहरूले आफ्नो योजनासहित भनाइ राख्ने बाह्रकोटीले बताए ।














Discussion about this post