इटहरी : सुनसरीमा लागूऔषधविरुद्धको कारबाहीका क्रममा तीन जना पक्राउ परेका छन्।
प्रहरीले छुट्टाछुट्टै स्थानबाट लागूऔषध बरामद गर्नुका साथै जेनजी आन्दोलनका क्रममा झुम्का कारागारबाट फरार भएका एक कैदीलाई पनि पक्राउ गरेको छ।
धरान उपमहानगरपालिका–१५ भानुमार्गबाट मंगलबार दिउँसो तीन जना लागूऔषधसहित पक्राउ परेका हुन्।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र अस्थायी प्रहरी चौकी तीनकुनेबाट खटिएको संयुक्त टोलीले पानबारीबाट महादेव चोकतर्फ पैदल आउँदै गरेका उनीहरूलाई शंका लागेर जाँच गरेको थियो।
प्रहरीका अनुसार उनीहरूको साथबाट ०.२१ ग्राम ब्राउनसुगर स्पास्मो–प्रोक्सिभन प्लसका ८५४ ट्याब्लेट र नाइट्राजेपामका २० ट्याब्लेट बरामद भएको छ।
पक्राउ पर्नेमा धरान–६ का ३१ वर्षीय नरबहादुर कटुवाल, धरान–१ का २६ वर्षीय रवि साह र धरान–१५ का ३३ वर्षीय बालकृष्ण दाहाल रहेका छन्। उनीहरूमाथि इलाका प्रहरी कार्यालय धरानले थप अनुसन्धान गरिरहेको छ।
यसैबीच, जेनजी आन्दोलनका क्रममा झुम्का कारागारबाट फरार भएका एक कैदीलाई प्रहरीले पुनः पक्राउ गरेको छ।
लागूऔषध गाँजा मुद्दामा पुर्पक्षका लागि कारागार चलान भएका धनकुटाको सहिदभूमि गाउँपालिका–६ घर भई हाल बराहक्षेत्र नगरपालिका–२ बस्दै आएका ३३ वर्षीय मनोज परियारलाई प्रहरीले मंगलबार दिउँसो चतराबाट पक्राउ गरेको हो।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको संयुक्त टोलीले खोजतलासका क्रममा उनलाई बराहक्षेत्र–२ स्थित चतरामा फेला पारेको थियो। उनलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा राखिएको प्रहरीले जनाएको छ।
त्यस्तै, देवानगञ्ज गाउँपालिका–३ नयाँहाटबाट प्रहरीले ६ किलोभन्दा बढी गाँजा र एउटा भारतीय नम्बर प्लेटको मोटरसाइकल बरामद गरेको छ।
प्रहरी चौकी कप्तानगञ्जबाट खटिएको टोलीलाई देखेपछि उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको भारतीय नम्बर प्लेटको पीबी ०२ बीके ३८०१ मोटरसाइकल छाडेर चालक फरार भएका थिए।
प्रहरीले मोटरसाइकलसहित ६ किलो ६६ ग्राम गाँजा बरामद गरेको जनाएको छ।
फरार चालकको पहिचान तथा खोजी भइरहेको र बरामद लागूऔषध तथा मोटरसाइकलबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
















Discussion about this post