इनरुवा : सुनसरीको इनरुवामा मोटरसाइकल, स्कुटर र साइकल एकआपसमा ठोक्किँदा सात वर्षीया बालिकाको मृत्यु भएको छ। दुर्घटनामा पाँच जना घाइते भएका छन्।
इनरुवा नगरपालिका–५ बलाहास्थित भित्री सडकखण्डमा बुधबार साँझ तीनवटा सवारीसाधन एकआपसमा ठोक्किएका हुन्।
प्रहरीका अनुसार पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को १५ प २२५७ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्र.१–०२–०५५ प १२९८ नम्बरको स्कुटरसहित सोही दिशाबाट आउँदै गरेको साइकल ठोक्किएका थिए।
दुर्घटनामा स्कुटर चालक, मोटरसाइकलमा सवार तीन जना र साइकलयात्री घाइते भएका थिए। घाइतेमध्ये स्कुटरमा पछाडि सवार इनरुवा नगरपालिका–९ निवासी सन्जु कुमार सरदारकी सात वर्षीया छोरी रिदिमा सरदारको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। उनलाई साँझ ५ः४५ बजे चिकित्सकले मृत घोषणा गरेका थिए।
दुर्घटनामा स्कुटर चालक इनरुवा–७ का ३० वर्षीय सुजन चौधरी, मोटरसाइकल चालक दुहबी–३ का २२ वर्षीय सागर सरदार, मोटरसाइकलमा सवार २४ वर्षीय अभिनष सरदार र ११ वर्षीय आयुष सरदार तथा साइकलयात्री इनरुवा–५ बलाहाका ४७ वर्षीय इन्द्रजित मण्डल घाइते भएका छन्।
घाइते पाँचै जनाको विराट नर्सिङ अस्पताल विराटनगरमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
















Discussion about this post