इटहरी : नवौँ राष्ट्रिय खेलकुदको लागि प्रदेश नम्बर १ को ब्याडमिन्टन प्रतियोगितामा पुरुष एकलमा सुनसरीका सत्यम सुब्बा र महिला एकलततर्फ मोरङकी सीमा राजवंशी विजयी भएकी छन् ।
झापाको बिर्तामोडमा भएको प्रदेश १ स्तरीय छनौट प्रतियोगितामा सुनसरी र मोरङले एकलतर्फको उपाधि हात पारेको हो ।
सुनसरीका सत्यम सुब्बाले भोजपुरका विशाल तामाङलाई २१–६ र २१–१५ को सोजो सेटमा हराउँदै जित हासिल गरेका हुन् ।
महिला एकलततर्फ मोरङकी सीमा राजवंशीले उदयपुरकी रोजी राईलाई २१–११ र २१–१२ को सोजो सेटमा हराउँदै उपाधि जितेकी हुन् ।
असोज २८ देखि पोखरामा आयोजना हुने नवौँ राष्ट्रिय खेलकुदका लागि प्रदेश नम्बर १ बाट विजेता उपविजेतासँगै पुरुषतर्फ सुनील कार्की संखुवासभा, आशिष खनाल सोलुखुम्बु, ताप्लेजुङका मिलन गुरुङ र दिपेन गुरुङ र उदयपुरका विनय चौधरी सहभागी हुनेछन् ।
महिलातर्फ विजेता र उपविजेतासँगै संखुवासभाकी एलिना श्रेष्ठ, धनकुटाकी अरुणा तामाङ र सुनसरीकी सृष्टि राई सहभागी हुनेछन् ।
झापाको काँकडभिट्टास्थित सामुदायिक हलमा तीन दिनसम्म आयोजना भएको खेलमा ४२ जना महिलासहित १२८ खेलाडीको सहभागिता रहेको थियो ।
विजेता तथा उपविजेता खेलाडीलाई प्रदेश खेलकुद विकास बोर्ड १ नम्बर प्रदेशका उपाध्यक्ष जिना कार्की, झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रशान्त भण्डारी लगायतले पदक वितरण गरेका थिए ।












Discussion about this post