इटहरी : इटहरी निवासी मूर्तिकार तथा कलाकार विक्रम तिम्सिना (विक्रम श्री) लाई एनआइसी एसिया बैँकले मानसिक यातना दिएको छ ।
किस्ता नतिरेको भन्दै एनआइसी इटहरी शाखाले कलाकार श्री लाई मानसिक यातना दिएको हो । घरमै सुरक्षा गार्ड पठाएपपि श्री ले आँफूमाथि बैँकले मानसिक यातना दिएको बताए ।
‘बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म सुरक्षा गार्ड घरमै पठाएर मानसिक यातना दिइयो,’ श्री ले भने, ‘नियतबश रूपमा मानसिक यातना दिइयो, एउटै मितिमा सात दिने ताकेता, ३५ दिने लीलामको प्रक्रिया र पत्रिकामा तीनपुस्तेको सूचना छापियो, फरक–फरक मिति वा किस्ता नतिर्ने भनेको भए यो प्रक्रिया हुनुपर्थ्यो, एउटै मितिमा कसरी हुन्छ ?’
उनका अनुसार १५ वर्षका लागि ९६ लाख रुपैयाँ ९ प्रतिशत ब्याज तिर्ने शर्तमा लिएको भएपनि अहिले १८ प्रतिशत ब्याज लगाउने गरेको छ ।
अहिलेसम्म ८ वर्षसम्म किस्ता तिरेपनि अहिले दुई महिना नतिर्दैमा लीलामीको प्रक्रिया अगाडि बढाउनु र मानसिक यातना दिनु गम्भीर अपराध रहेको उनी बताउँछन् ।
‘अहिलेसम्म तिरेको हुँ, अब पनि नतिर्ने भनेको होइन । व्यापारको प्रकृतिअनुसार तीन महिनामा तिर्छु भन्दा फाइन पनि हानेर जथाभावी रूपमा यातना दिइयो,’ उनले भने, ‘अचानक घरमा सुरक्षा गार्ड आउँदा त अन्यौलमा परियो ।’
उनले आँफूले समयमा किस्ता बुझाउन खोज्दाखोज्दै पनि काम गरेको पैसा समयमा नउठ्नु, भ्रष्ट कर्मचारी र दलाल ठेकेदारहरूका कारण काम लिन र सम्पन्न गर्न सहजता नहुनु र देशको आर्थिक मन्दीका कारण समस्या उत्पन्न भइरहेको बताए ।
‘हामीजस्ता स्वावलम्बी सिर्जनशील सर्जकहरूले सजिलो गरी बैंकलाई किस्ता बुझाउन सकिरहेका छैनौं । एकैदिन एकैपटक बैंकले सात दिने, ३५ दिने र घर लीलाम गर्ने, पत्रिकामा छाप्ने तयारीको सूचनाको पत्रसहित घर अगाडि गार्ड राख्दा अनेकौं प्रश्न उब्जिएका छन्,’ उनले भने ।
धेरै जना कर्मचारीबाट एकै दिन धेरै कल आएको र घर तथा कार्यक्षेत्रमा नै भेट गरी ताकेता गरिएको उनले बताए ।
‘सहानुभूतिभन्दा हतोत्साहित बनाउने वातावरण रचना गरिनु, ऋणीको बाध्यता र परिस्थिति प्रत्यक्ष देखेर अनुभव गरेर पनि बारम्बार यस्तो दोहोरिनुले सबैलाई दुःखित बनाएको छ,’ उनले भने ।
एनआइसी एसिया बैँक इटहरी शाखाका म्यानेजर विशाल घिमिरेले ह्वाटसपमा म्यासेज पठाएको र फोन गरेर पटकपटक ताकेता गरी मानसिक यातना दिएको श्री को आरोप छ ।
यता, यस विषयमा बुझ्न म्यानेजर घिमिरेलाई सम्पर्क गरिएपनि उनको फोन उठेन ।














Discussion about this post