झापा : झापामा मानव–हात्ती द्वन्द्वले फेरि एक जनाको ज्यान लिएपछि स्थानीयवासीको आक्रोश वन्यजन्तुतर्फ नभई समस्या समाधान गर्न नसकेका निकायहरूप्रति केन्द्रित भएको छ।
मेचीनगर–४ की ६२ वर्षीया पद्मा पौडेलको आइतबार बिहान जङ्गली हात्तीको आक्रमणबाट मृत्यु भएपछि स्थानीयले शव उठाउनसमेत अवरोध गर्दै दीर्घकालीन समाधानको माग गरेका छन्।
घटनास्थलमा जिल्ला प्रशासन, वन कार्यालय र जनप्रतिनिधिको उपस्थितिको माग गर्दै उनीहरूले नाराबाजी गरेका थिए।
डिभिजन वन कार्यालयका अनुसार चालु आर्थिक वर्षमै झापामा हात्तीको आक्रमणबाट चार जनाको मृत्यु भइसकेको छ। यस अवधिमा तीन वटा जङ्गली हात्ती पनि मरेका छन्। यसले मानव र वन्यजन्तु दुवैतर्फ क्षति बढिरहेको देखाउँछ।
स्थानीयवासीले हरेक वर्ष क्षति दोहोरिने तर समाधानका योजना कागजमै सीमित हुने गरेको गुनासो गरेका छन्।
हात्तीको परम्परागत आवागमन मार्ग संरक्षण, विद्युतीय बारको प्रभावकारी व्यवस्थापन तथा सीमापार समन्वयबिना द्वन्द्व झन् जटिल बन्दै जाने उनीहरूको भनाइ छ।













Discussion about this post