झापा : सस्तो मूल्यमा जग्गा उपलब्ध गराईदिने भन्दै एक महिलाबाट ३२ लाख रुपियाँ लिएर फरार भएका चार जना जग्गा दलाललाई झापा प्रहरीले पक्राउ गरेको छ ।
झापाको अर्जुनधारास्थित नयाँ बसपार्कमा सस्तो मूल्यमा जग्गा उपलब्ध गराउने भन्दै ती महिलाबाट सो समूहले ३२ लाख रुपियाँ लिइए बेपत्ता भएको थियो । उजुरीका आधारमा उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालका अनुसार पक्राउ पर्नेहरूमा रामेछाप जिल्ला देउराली गाउँपालिका २ घर भई भक्तपुर बस्ने ३९ वर्षीय राजेश श्रेष्ठ, पाँचथर जिल्ला मिक्लाजुङ गाउँपालिका ४ घर भई हाल काठमाडौँको गर्जुधारा बस्ने ५२ वर्षीय जनक रेग्मी, मोरङ जिल्ला बेलबारी नगरपालिका ६ घर भई हाल झापा मेचीनगर नगरपालिका ६ बस्ने ५५ वर्षीय रणबहादुर पोखरेल र झापा कमल गाउँपालिका ५ बस्ने ५२ वर्षीय विजय राई रहेका छन् ।
अर्जुनधारा नगरपालिका ११ स्थित नयाँ बसपार्क नजिकै दुई कट्ठा जग्गा सस्तो दरमा बिक्रीमा भइरहेको र खरिद गर्न आउनु भनी विजयले मोरङ जिल्ला उर्लाबारी नगरपालिका ४ बस्ने विष्णुमाया सापकोटा सुबेदी र अनिल विश्वकर्मालाई चैत ३० गते दिउँसो १ बजेको समयमा बोलाएका थिए।
तर, विजयले जग्गा खरिदबिक्री गर्ने कुनै बैना कागजात नबनाई विष्णुमायाले लिएर आएको ३२ लाख रुपैयाँ लिएर त्यहाँबाट फरार भएका थिए । आफ्नो रकम लुटिएको भन्दै पीडितले तत्काल इलाका प्रहरी कार्यालय बिर्तामोडमा उजुरी दिए।
प्रहरीमा उजुरी परेसँगै लुटिएको रकमसहित दुई जना इलामतर्फ भागेको सूचना पाए लगतै झापा प्रहरीले जिल्ला प्रहरी कार्यालय इलामसँग सहकार्य गरी इलाम नगरपालिका ७ पुरानो बसपार्कस्थित देउराली होटेलमा लुकीछिपी बसेको अवस्थामा राजेश र जनकलाई प्रहरीले १४ लाख ६५ हजार नगदसहित पक्राउ गरेको डीएसपी रिजालले बताए।
सोही घटनामा संलग्न रहेको विजय र रणबहादुरलाई इलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको प्रहरी टोलीले अर्जुनधारा ११ स्थित थापा होटेल एन्ड लजमा लुकीछिपी बसेको अवस्थामा नगद १३ लाख रुपैयाँसहित पक्राउ गरेको उनले बताए।
पक्राउ परेका चारै जनालाई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखेर थप अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको छ ।














Discussion about this post