इटहरी : सुनसरीको इटहरीस्थित सेतो दरबारमा ‘स्रष्टा र सिर्जना’ कार्यक्रम सम्पन्न भएको छ । मधुपर्क पाठक चौतारी इटहरीको आयोजनामा भएको कार्यक्रममा साहित्यकार, पाठक तथा सर्जकहरूको सहभागिता रहेको थियो ।
मधुपर्कका निवर्तमान सम्पादक तथा कथाकार तुलसीहरि कोइरालाको प्रमुख उपस्थितिमा आयोजित कार्यक्रममा इटहरीका दुई दर्जनभन्दा बढी पाठक तथा सर्जक सहभागी थिए ।
गोरखापत्र संस्थानको साहित्यिक प्रकाशन मधुपर्क मासिकको अध्ययन तथा पठनसंस्कृतिको विकास गर्ने उद्देश्यले इटहरीमा पाठक तथा सर्जकहरूको चौतारी स्थापना गरिएको आयोजकले जनाएको छ ।
करिब ७५ वर्षको इतिहास बोकेको मधुपर्कको नियमित प्रकाशन हुँदै आए पनि पछिल्लो समय व्यवस्थापन तथा बजार वितरणमा समस्या देखिँदा काठमाडौं बाहिर सहज रूपमा उपलब्ध हुन कठिन हुँदै गएको छ । यही समस्यालाई सम्बोधन गर्न इटहरीका पाठकहरू एकीकृत भई सामूहिक रूपमा मधुपर्क खरिद तथा अध्ययनको अभियानमा जुटेका छन् ।
मधुपर्कको बजार व्यवस्थापनलाई सहज बनाउनुका साथै साहित्यिक पठनसंस्कृतिको विकास र पाठक तथा सर्जकबीचको सम्बन्ध विस्तार गर्ने अभियानले सकारात्मक परिवर्तन ल्याउने अपेक्षा गरिएको छ ।
















Discussion about this post