झापा : विद्यालयमा शौचालयको सेफ्टी ट्यांकीमा खसेर घाइते बनेका बालकको मृत्यु भएको छ ।
सेफ्टी ट्यांकीमा खसेर गम्भीर घाइते बनेपछि अस्पताल भर्ना गरिएका बालक तान्छोक लिम्बूको निधन भएको छ । ८ वर्षीय लिम्बू सोमबार खाजा खाएर शौचालय जाँदा सेफ्टी ट्यांकीमा खसेर गम्भीर घाइते भएका थिए ।
घटना लगत्तै लिम्बूलाई उपचारको लागि बिर्तामोड ल्याइएको थियो । उनको उपचारको क्रममा मंगलबार बिहान १०ः३० बजे निधन भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
धुलाबारीको सानो साथी किन्डर गार्टेनमा पढ्ने ८ वर्षीय लिम्बू शौचालयको ढोकाअगाडि रहेको सेफ्टी ट्यांकीभित्र खसेका थिए ।
सेफ्टी ट्यांकीको प्वाल छोप्न प्लाई लगाइएको थियो । सो प्लाई पनि मक्किएका कारण त्यसमाथि लिम्बू हिँड्दा भित्र झरेका थिए ।
विद्यालयका सञ्चालक मनोज गुरुङले बालक सेफ्टी ट्यांकमा डुबेको थाहा पाएपछि आफैँ ट्यांकभित्र पसेर निकालेका थिए ।
त्यसपछि अस्पताल पनि उनैले पुर्याएका थिए । उनलाई बेहोस अवस्थामा उद्दार गरी सोमबार दिउँसो २ बजे अस्पताल भर्ना गरिएको थियो ।
चिन्ताजनक अवस्थामा रहेका बालक लिम्बूको भेन्टिलेटरमा राखेर उपचार गराइएको थियो ।
बालक लिम्बूको फोक्सोमा पानी जमेर श्वासप्रश्वासमा गम्भीर समस्या भएकाले सुधार हुन कम्तिमा ४८ घण्टा पर्खनुपर्ने चिकित्सकले बताएका छन् । लापरबाही ढंगले मन्टेश्वरी सञ्चालन गरेको भन्दै प्रहरीले त्यसका सञ्चालक गुरुङलाई सोमबार नै पक्राउ गरेको छ ।
पक्राउ परेका गुरुङमाथि कारबाही प्रक्रिया अगाडि बढाइने जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।















Discussion about this post