इटहरी : इटहरी ६ मा रहेको मोडर्न प्रिपेरेटोरी सेकेण्डरी स्कूलमा निःशुल्क आँखा जाँच तथा शिविर कार्यक्रमको आयोजना गरिएको छ ।
बुधबार विद्यालय प्राङ्गणमा विद्यार्थी, अभिभावक, शिक्षक तथा समुदायबाट आएका मानिसहरूको निःशुल्क आँखा जाँच तथा शिविर गरिएको हो । विराटनगर आँखा अस्पतालसँगको सहकार्यका विद्यालयले आँखा जाँच गरेको हो ।
पछिल्लो समय आँखा पाक्ने बिरामीको संख्या बढेको भन्दै विद्यार्थी, अभिभावक, शिक्षकसहित समुदायलाई निःशुल्क शिविर गरिएको विद्यालयका सह–प्रधानाध्यापक रमेश निरौलाले बताए ।
उनका अनुसार स्कूले विद्यार्थीमा पनि आँखा पाक्ने समस्या हुँदा अध्ययन, अध्यापनमा समस्या हुन नदिन र बेलैमा उपचार गर्न प्रेरित गर्ने उदेश्यले शिविर आयोजना गरिएको हो ।
‘हामीले आयोजना गरेको शिविरमा तीन सय बढी लाभान्वित हुनुभएको छ, दोस्रो चरणमा यही आइतबार पुनः शिविर आयोजना हुनेछ,’ निरौलाले भने, ‘शिविरमा आवश्यक पर्ने औषधि पनि निःशुल्क उपलब्ध गराएका छौँ, थप उपचार गर्नुपर्ने अवस्थामा भने अस्पतालसँग सहकार्य गर्नेछौँ ।’
उनका अनुसार विद्यार्थीहरूलाई दुई सय रुपैयाँसम्मको औषधि निःशुल्क उपलब्ध गराइएको छ ।
विराटनगर आँखा अस्पतालका आँखा स्वास्थ्य कार्यकर्ता मनिषकुमार खवासले खासगरी दूषित वातावरणका कारण पछिल्लो समय आँखाका बिरामी बढेको बताए ।
‘दूषित वातावरणका कारण आँखाका बिरामी बढेका छन्, यो सरुवा रोग भएकाले जसलाई, जुनै बेला पनि सर्न सक्छ,’ उनले भने, ‘चाँडै सर्ने रोग भएका कारण आँखालाई बेलाबेला चिसो पानीले सफा बनाउनुपर्छ ।’
आँखाका बिरामी भएको अवस्थामा चिसो पानीले सफा राख्ने, अरु मानिसभन्दा केही परै बस्ने, आँफूले प्रयोग गरेका कपडा, रुमाल अरुलाई प्रयोग गर्न नदिने सुझाव दिए ।
उनका अनुसार विराटनगर आँखा अस्पतालमा अन्य समयमा दैनिक एक हजारभन्दा बढी आँखाका बिरामी आउने भएपनि अहिले उक्त संख्या बढेको छ । पछिल्लो समय कोसी प्रदेशका विभिन्न जिल्लाबाट आँखाका बिरामी बढ्दो रहेको उनले बताए ।
‘अहिले दैनिक पन्ध्र सयसम्म आँखाका बिरामी आउने गरेका छन्,’ उनले भने, ‘बढीजसो आँखा पाक्ने समस्याका बिरामी आउने गरेका छन् ।’ उनले यो किसिमको भाइरल रोग एकदेखि डेढ महिनासम्म निरन्तर रहनसक्ने बताए ।
शिविरमा आएका बिरामीहरूले चस्मा लगाउनुपर्ने अवस्था रहेमा एक हजार दुई सय बराबर निःशुल्क हुने, मोतियाबिन्दुको अप्रेसन गर्नुपर्ने अवस्थामा लेन्स, औषधि, ल्याब टेस्ट लगायत छुट हुने, छड्के आँखाको अप्रेसन गर्नुपनरेमा १२ हजारसम्मको छुट वा उपचार हुने खवासले बताए ।
चिकित्सकहरूका अनुसार सरुवा रोग भएकाले आँखाको संक्रमण अरुमा चाँडो सर्छ । विद्यालय जाने बालबालिकादेखि उपचारका लागि अस्पताल पुग्नेहरूबाट समुदायस्तरमै संक्रमण फैलिइरहेको छ ।
नेत्ररोग विशेषज्ञहरू पछिल्लो समय ‘एडिनो’ भाइरसका कारण निम्तिएको आँखा पाक्ने समस्या भाइरलका रूपमा फैलिरहेको बताउँछन् । मनसुनमा भाइरस सक्रिय भएर आँखामा हुने संक्रमणको गति तीव्र बन्दा आँखा पाक्ने बिरामी बढिरहेको उनीहरूको भनाइ छ ।













Discussion about this post