इटहरी : नेपालीहरूको महान् पर्व बडादसैँको मुख्य दिन विजया दशमी आज देशभर हर्षोल्लासका साथ मनाइँदै छ । यस अवसरमा नेपालीहरूले मान्यजनको हातबाट निधारमा टीका, शिरमा जमरा र आशीर्वाद ग्रहण गरिरहेका छन् ।
दसैँको धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको विजया दशमीमा परिवारका सदस्य, आफन्त र इष्टमित्रबीच भेटघाट गर्ने तथा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दै आशीर्वाद लिने परम्परा छ ।
नेपाल पञ्चांग निर्णायक विकास समितिले यस वर्ष टीका लगाउने उत्तम साइत बिहान १० बजेर २६ मिनेटमा निर्धारण गरेको छ । त्यस्तै, देवी विसर्जनको साइत बिहान ८ बजेर ४९ मिनेटका लागि तोकिएको छ ।
समितिका अध्यक्ष सहप्राध्यापक डा. पुरुषोत्तम भट्टराईका अनुसार विजया दशमीका दिन दिनभर टीका लगाउन सकिने भए पनि शुभ साइतमा टीका ग्रहण गर्न चाहनेहरूका लागि बिहान १० बजेर २६ मिनेटको समय निर्धारण गरिएको हो ।
समितिले साइतमा टीका लगाउँदा टीका लगाइदिने मान्यजन पूर्वतर्फ र टीका थाप्ने व्यक्ति पश्चिमतर्फ फर्कनुपर्ने जनाएको छ ।
दसैँमा नवदुर्गा भवानीको पूजा–आराधना गरी देवीको प्रसादका रूपमा रातो टीका र जमरा ग्रहण गर्ने धार्मिक परम्परा रहिआएको छ । यस दिन मान्यजनबाट टीका र जमरा लगाएर आशीर्वाद लिनुका साथै परिवार तथा आफन्तबीच आत्मीयता साटासाट गर्ने गरिन्छ ।
रोजगारी, अध्ययन तथा विभिन्न पेसा–व्यवसायका कारण घरपरिवारबाट टाढा रहेका नेपालीहरू पनि दसैँ मनाउन आफ्नो जन्मथलो फर्किने भएकाले यस पर्वलाई पारिवारिक पुनर्मिलनको विशेष अवसरका रूपमा लिइन्छ ।
















Discussion about this post