इटहरी : सवारी चालक अनुमतिपत्र (लाइसेन्स) बनाउन आवश्यक निरोगिताको प्रमाणपत्र लिन कोशी प्रदेशका सेवाग्राहीले अब पाँच सय रुपैयाँ खर्च गर्नुपर्ने भएको छ ।
यसअघि तीन सय ५० रुपैयाँमा उपलब्ध हुँदै आएको उक्त सेवा नयाँ व्यवस्थासँगै महँगिने भएको हो ।
प्रस्तावित व्यवस्थाअनुसार सेवाग्राहीले प्रदेश सरकारलाई तीन सय ५० रुपैयाँ राजस्व र प्रमाणपत्र जारी गर्ने चिकित्सकलाई एक सय ५० रुपैयाँ शुल्क बुझाउनुपर्नेछ । यससँगै प्रमाणपत्र लिने खर्चमा एक सय ५० रुपैयाँ वृद्धि हुनेछ ।
शुल्क बढ्नुका साथै प्रमाणपत्र जारी गर्ने प्रक्रियामा पनि परिवर्तन गर्न लागिएको छ । यातायात व्यवस्था कार्यालयमा करारमा नियुक्त चिकित्सकबाट स्वास्थ्य परीक्षण गराउने हालको व्यवस्था हटाएर सरकारले सूचीकृत चिकित्सकमार्फत प्रमाणपत्र जारी गर्ने तयारी गरेको छ ।
कोशी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रमाणपत्र जारी गर्न इच्छुक चिकित्सकलाई सूचीकृत हुन आह्वान गरिसकेको छ । मन्त्रालयका सचिव कृष्ण सापकोटाका अनुसार संघीय सरकारको परिपत्रअनुसार नयाँ व्यवस्था कार्यान्वयन गर्न लागिएको हो ।
यसअघि निरोगिताको प्रमाणपत्र जारी गर्दा अनियमितता भएको र सेवाग्राहीबाट तोकिएको भन्दा बढी रकम असुलिएको गुनासो आएपछि प्रदेश सरकारले यातायात व्यवस्था कार्यालयमै चिकित्सक खटाउने व्यवस्था गरेको थियो ।
त्यसअनुसार इटहरी र बिर्तामोडका कार्यालयमा दुई–दुई जना तथा अन्य कार्यालयमा एक–एक जना चिकित्सकले सेवा दिँदै आएका थिए ।
अब उक्त व्यवस्था परिवर्तन हुँदा सेवाग्राहीले स्वास्थ्य परीक्षण तथा प्रमाणपत्रका लागि कहाँ र कसरी सेवा लिने भन्ने प्रक्रियामा पनि परिवर्तन हुनेछ ।
शुल्कको संरचनामा भएको परिवर्तनले भने लाइसेन्स बनाउन आवश्यक कागजात जुटाउँदा सेवाग्राहीको खर्च बढाउनेछ ।
















Discussion about this post