विराटनगर : कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले श्रमको सम्मान गर्न सकेमात्र देशको विकास हुने बताएका छन् ।
बुधबार श्रम बजार सूचना प्रणाली श्रम संसारको सुरुवात गर्दै मुख्यमन्त्री कार्कीले श्रममा ठूलो सानो नहुने बताएका हुन् ।
‘हाकिमदेखि स्वीपरसम्म सबैले आफ्नो काम गरिरहेको अवस्था छ । सबै आफ्नो ठाउँमा दक्ष हुन्छ । आफ्नो काम जानेको हुन्छ, श्रममा को ठूलो को सानो हुन्छ र ? त्यस कारण श्रमको सम्मान गर्न जरुरी रहेको छ ।’
मुख्यमन्त्री कार्कीले दक्ष जनशक्ति रोज्नका लागि श्रम संसार महत्वपूर्ण साबित हुने उल्लेख गरे । ‘अब यस क्षेत्रमा कसैले पनिकाम गर्ने मान्छे रोजेर पाइने भएको छ,’ उनले भने, ‘यसले हाम्रो श्रम बजारलाई समेत व्यवस्थित गर्दछ ।’
मुख्यमन्त्री कार्कीले मानिसको आवश्यकताअनुसार श्रममा लाग्न सक्ने उल्लेख गर्दै श्रम बजार जति फैलियो त्यति विकासले गति लिने बताए ।
‘हरेक विकसित मुलुकको श्रम बजार विश्वमा छ । मानिसले आवश्यकताअनुसारको श्रम गर्न पाउने व्यवस्था संविधानमा नै उल्लेख भएको अवस्था छ । अनि एक थरी मानिसहरू मानिस बिदेसिए, देश सकियो भनेर भ्रम फैलाइरहेका छन्,’ उनले थपे ‘यस परियोजनाले विश्वको श्रम बजारलाई समेत व्यवस्थित बनाउन सक्छ र हामी यसलाई विस्तार गर्नेछौँ ।’
श्रम सञ्चार कोसी प्रदेशको सामाजिक विकास मन्त्रालयले स्वीस कन्ट्याकका साथै आसमान नेपालसँगको सहकार्यमा सञ्चालित ‘स्टेप अप’ परियोजना हो ।
यस परियोजनाले कोसी प्रदेशका विराटनगर महानगरपालिका, इटहरी उपमहानगरपालिका साथै दुहबी नगरपालिकाले साझेदारी गरेका छन् ।
क्रमशः सबै पालिका समेट्ने लक्ष रहेको स्वीस कन्ट्याककाप्रोजेक्ट अफिसर सागर चापागाईँले जानकारी दिए ।
उनले भने, ‘यो काम खोज्नका साथै रोज्नका लागि निःशुल्क माध्यमहो । अर्कोतर्फ यो प्रणाली प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा रहेको जीआईडिसीसँग लिङ्क भएकाले पनि हाम्रा डाटाहरू सुरक्षित रहेका छन् ।’
एप्सबाट बेरोजगार युवाहरूलाई रोजगारीमा समेट्नका साथै स्थानीय स्तरमा हुने तालिमबारे पनि जानकारी प्राप्त गर्न सकिने विश्वास लिइएको छ । सो प्रणालीमा हालसम्म तीन हजार चार सय बढी संस्था तथा व्यक्ति दर्ता भएका छन् ।
जसमा तीन सय बढीले रोजगारीका लागि आवेदन दिँदा ३१ जनाले रोजगारी प्राप्त गरिसकेको चापागाईँले बताए ।
सामाजिक विकास मन्त्रालयका सचिव वासुदेव दाहालको सभाध्यक्षमा भएको कार्यक्रममा विभिन्न संस्थाका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।













Discussion about this post