विराटनगर : सडक दुर्घटना न्यूनीकरण तथा सुरक्षित यातायात प्रवर्द्धन गर्ने उद्देश्यले कोशी प्रदेशमा ‘सुरक्षित यात्रा अभियान’ शुभारम्भ गरिएको छ। अभियानको अवसरमा यात्रुले सफारीमा छुटाएको ५ लाख रुपैयाँ फिर्ता गर्ने चालक जितबहादुर राईलाई सम्मान गरिएको छ।

‘सुरक्षित यात्रा, हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ आइतबार विराटनगर महानगरपालिका–११ स्थित बसपार्कमा आयोजित कार्यक्रममा कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) शेखर खनालले अभियानको शुभारम्भ गरे।
कार्यक्रममा खनालले सडक दुर्घटनाबाट हुने जनधनको क्षति न्यूनीकरण गर्न प्रहरीको प्रयास मात्र पर्याप्त नहुने भन्दै चालक, सहचालक, यातायात व्यवसायी, यात्रु तथा सरोकारवाला सबैको साझा जिम्मेवारी रहेको बताए।
उनले मादक पदार्थ सेवन, तीव्र गति, क्षमताभन्दा बढी यात्रु तथा भार बोक्ने, चालकको सीप र अनुमतिबिना सवारी चलाउने, जथाभावी ओभरटेक गर्ने, लेन अनुशासन उल्लंघन गर्ने तथा सडक नियम पालना नगर्ने प्रवृत्तिले दुर्घटना बढिरहेको उल्लेख गरे। सवारी साधनको नियमित जाँच, सडक तथा मौसमको अवस्था बुझेर यात्रा गर्न र ट्राफिक नियम पूर्ण रूपमा पालना गर्न उनले आग्रह गरे।
कार्यक्रममा गत कात्तिक १६ गते आफ्नो सिटी सफारीमा छुटेको ५ लाख रुपैयाँ नगद भएको झोला इमानदारीपूर्वक जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङमा बुझाउने चालक जितबहादुर राईलाई सम्मान गरिएको थियो। सुरक्षित चालक नम्बर ३६६ रहेका राईलाई प्रमुख अतिथि खनालले सम्मान गरेका हुन्।
सवारी आवागमनलाई सुरक्षित, व्यवस्थित, मर्यादित र पहुँचयोग्य बनाउँदै दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सञ्चालन गरिएको अभियान कोशी प्रदेशका १४ वटै जिल्लामा विस्तार भइरहेको प्रहरीले जनाएको छ।
अभियानलाई प्रभावकारी बनाउन कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले सामाजिक सञ्जालमार्फत जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले टिकटक प्रतियोगितासमेत आयोजना गरेको छ। सडक सुरक्षा र दुर्घटना न्यूनीकरणसम्बन्धी सचेतनामूलक भिडियो निर्माण गरी प्रतियोगितामा सहभागी हुन आम नागरिकलाई आग्रह गरिएको छ।
कार्यक्रममा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका प्रमुख प्रहरी उपरीक्षक दीपक गिरी, जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक कविता कटवाल, यातायात व्यवसायी, सञ्चारकर्मी, चालक, सहचालक तथा प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो।
















Discussion about this post