ताप्लेजुङ : ताप्लेजुङस्थित पाथीभरा मन्दिरमा कात्तिक महिनामा ६४ हजारभन्दा बढी दर्शनार्थी पुगेका छन् । दर्शनार्थीको उल्लेख्य आगमनसँगै मन्दिरमा एक महिनामै झन्डै ५० लाख रुपैयाँ भेटी संकलन भएको छ ।
पाथीभरा क्षेत्र विकास समितिका अनुसार कात्तिकमा ६४ हजार १०६ जनाले मन्दिरको दर्शन गरेका छन् । यस अवधिमा ४९ लाख ८७ हजार २०० रुपैयाँ भेटी संकलन भएको समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङले जानकारी दिए ।
कात्तिक २८ गते एकै दिन ११ हजार २७२ जनाले पाथीभराको दर्शन गरेका थिए । समितिका सूचना प्रविधि प्रमुख सन्तोष पुर्कुटीका अनुसार पछिल्लो एक वर्षयताकै सबैभन्दा धेरै दर्शनार्थी एकै दिन मन्दिर पुगेका हुन् ।
दर्शनार्थीको आगमनसँगै भेटी संकलन पनि अघिल्ला महिनाको तुलनामा बढेको देखिन्छ । असोजमा १६ लाख ४१ हजार १५० रुपैयाँ र भदौमा २३ लाख ६७ हजार रुपैयाँ भेटी संकलन भएको थियो । कात्तिकको भेटी संकलन असोजको तुलनामा झन्डै तीन गुणा हो ।
समुद्री सतहबाट तीन हजार ७९४ मिटर उचाइमा रहेको पाथीभरा धाम पुग्न धरान–माझीटार हुँदै तमोर करिडोर वा झापाको बिर्तामोडबाट इलाम–पाँचथर हुँदै मेची राजमार्गको बाटो प्रयोग गर्न सकिन्छ ।
पैदल यात्रालाई सहज बनाउन बाटोका विभिन्न स्थानमा पानी र हिउँबाट जोगिने फाइबरका छाना राखिएका छन् ।
















Discussion about this post