इटहरी : जबरजस्ती करणी मुद्दामा १० वर्ष कैद सजाय तोकिएपछि झुम्का कारागारमा कैद भुक्तान गरिरहेका बेला जेनजी आन्दोलनका क्रममा फरार भएका एक कैदी पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सुनसरीको देवानगञ्ज गाउँपालिका–१ का ३० वर्षीय भरतलाल मेहता रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार जिल्ला अदालत सुनसरी इनरुवाले २०८१ असार ३० गते मेहताविरुद्ध जबरजस्ती करणी मुद्दामा १० वर्ष कैद सजाय सुनाएको थियो । सजायअनुसार उनले पाँच वर्ष तीन महिना कैद भुक्तान गरिसकेका थिए । उनीविरुद्ध फैसला हुनुअघि पुर्पक्षमा कारागारमा रहेका थिए ।
२०८२ भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा झुम्का कारागारबाट फरार भएका मेहताको चार वर्ष नौ महिना कैद भुक्तान गर्न बाँकी थियो ।
प्रहरीले खोजतलास गर्ने क्रममा आइतबार (आज) बिहान ८ः३० बजे रामधुनी नगरपालिका–५ स्थित शिवचोकबाट उनलाई पक्राउ गरेको हो ।
अस्थायी प्रहरी चौकी मध्यहर्षाहीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेका मेहतालाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सुनसरी ल्याइएको र पुनः झुम्का कारागार पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
















Discussion about this post