इटहरी : शैलजा आचार्य हृदय रोग केन्द्र विराटनगर अस्पतालको सञ्चालनका लागि सम्पूर्ण तयारी पूरा भएको छ ।
कोशी प्रदेश सरकारले सञ्चालन गर्न लागेको उक्त अस्पतालको सोमबार बिहान ११ बजे उद्घाटन गर्ने तयारी गरिएको हो ।
उक्त अस्पतालको उद्घाटन प्रदेश प्रमुख परशुराम खापुङ्, प्रतिनिधिसभा सदस्य तथा कांग्रेस नेता डा. शेखर कोइराला र मुख्यमन्त्री केदार कार्कीले संयुक्त रूपमा गर्ने प्रदेश सरकारको तयारी छ ।
मुख्यमन्त्री कार्कीले प्रतिस्थापन विधेयकबाट चालू आर्थिक वर्षका लागि ल्याएको बजेटमार्फत शैलजा आचार्य हृदय रोग केन्द्र अस्पताल सञ्चालनको घोषणा गरेका थिए । अस्पताल सञ्चालनका लागि चिकित्सक, उपकरण, भौतिक संरचना लगायतका सम्पूर्ण तयारी पूरा भएको प्रदेश स्वास्थ्य मन्त्रालयकी सचिव डा. सुधा देवकोटाले बताइन् ।
प्रतिनिधिसभा सदस्य तथा कांग्रेस नेता कोइराला, मुख्यमन्त्री कार्की, प्रदेश योजना आयोगका उपाध्यक्ष पुरञ्जन आचार्य, गणेशराज कार्कीलगायतले उक्त अस्पताल सञ्चालनका लागि गरिएको तयारीको आइतबार अनुगमन गरेका छन् ।
उनीहरूले अस्पतालसँगै रहेको प्रदेश जनस्वास्थ्य प्रयोगशालाको समेत अनुगमन गरेका हुन् । उक्त प्रयोगशालामा नै उक्त अस्पतालमा उपचारका लागि आउने बिरामीहरूको आवश्यक स्वास्थ्य परीक्षण गर्ने व्यवस्था गरेको हो ।
अनुगमनका क्रममा कांग्रेस नेता कोइरालालगायतका व्यक्तिहरूले जनस्वास्थ्य प्रयोगशालामा स्वास्थ्य परीक्षण समेत गराएका थिए ।
अनुगमनपछि कोइरालाले हृदय रोग उपचारका लागि शैलजा आचार्य हृदय रोग केन्द्र उपयुक्त भएको बताएका छन् । उनले यस अस्पतालले काठमाडौं बाहिर बिरामीहरूको हृदय रोगको उपचारको ढोका खुलेको बताएका हुन् ।
मुख्यमन्त्री कार्कीले कोशी प्रदेशका हृदय रोगका बिरामीहरूको उपचार संघीय सरकारको एक लाख र प्रदेश सरकारको एक लाख गरी दुई लाखले निःशुल्क उपचार हुने बताए ।












Discussion about this post