इटहरी : सुनसरी, मोरङ र झापाबाट लागूऔषधसहित तीन जना पक्राउ परेका छन्।
सुनसरीको धरान उपमहानगरपालिका–१७ स्थित लागूऔषध कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर तथा अस्थायी प्रहरी चौकी जोरसखुवाबाट खटिएको संयुक्त टोलीले सोही स्थानका ३१ वर्षीय करण खड्काको घरमा चेकजाँच गर्दा ट्रमाडोल ६५० क्याप्सुल र कोलिबान ९४० चक्की गरी जम्मा १,५९० पिस प्रतिबन्धित औषधि फेला पारी उनलाई नियन्त्रणमा लिएको छ ।
यस्तै, मोरङको रतुवामाई नगरपालिका–८ स्थित ३५ वर्षीय कर्णबहादुर थापाले आफ्नै घरबाट लागूऔषध बिक्री वितरण गरिरहेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको टोलीले उनलाई ३ ग्राम ८३० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको हो ।
उता, झापाको इलाका प्रहरी कार्यालय दमकबाट खटिएको टोलीले पाँचथर फाल्गुनन्द गाउँपालिका–७ का २५ वर्षीय सुजन नेम्वाङलाई ८ ग्राम १०० मिलिग्राम ब्राउनसुगरसहित दमक नगरपालिका–६ बाट पक्राउ गरेको छ ।
पक्राउ परेका तीनै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।













Discussion about this post