दमक : बाँझोपना अर्थात् निःसन्तानको समस्या पछिल्लो समय बढिरहेको यसका विज्ञ चिकित्सक तथा जानकारहरुले औँल्याएका छन् ।
जीवनशैलीमा आएको परिवर्तन, विवाह ढिलो गर्नु, वैदेशिक रोजगारका कारण दम्पतीबीच पर्याप्त सम्भोगको अभाव र कतिपयको स्वास्थ्यमा रहेको असहज अवस्थाका कारण निःसन्तानको समस्या बढी हुने गरेको चिकित्सकको भनाइ छ ।
दमकमा विगत १६ वर्षदेखि महिलाको प्रसूति सेवा दिँदै आएको ऊँ मेची अस्पतालका स्त्रीरोग विशेषज्ञ डा.शङ्करप्रसाद हुजदार निःसन्तान हुने समस्या बढेको बताउनुहुन्छ । उहाँका अनुसार सरदर १० देखि १४ प्रतिशत जोडीमा निःसन्तानको समस्या देखिने गरेको छ । तीमध्ये करिब सात प्रतिशतमा भने निःसन्तानको समस्या अर्थात् बाँझोपनाका कारण नै पत्ता लाग्न नसकिरहेको पनि हुजदारले सुनाउनुभयो ।
उहाँले स्वास्थ्यका दृष्टिकोणबाट सबै ठिकठाक हुँदाहुँदै पनि सन्तान नहुने समस्या देखिएको र त्यसका कारण यही नै हो भन्ने यकीन अझै नहुन नसकेको बताउनुहुन्छ । यो अलि अप्ठ्यारो विषय पनि भएको बताउँदै उहाँले भन्नुभयो, “दम्पतीमा निःसन्तान हुने समस्या नेपाली समाजमा बढेको छ, यसमा हाम्रो ध्यान पुग्न सकेको छैन ।”
ऊँ मेची अस्पताल प्रसूति सेवामात्र उपलब्ध गराउँदै आएको जिल्लाकै एक पुरानो स्वास्थ्य संस्था हो । सो अस्पतालमा डा हुजदारसहित अर्का स्त्रीरोग विशेषज्ञ डा.निरञ्जनसिंह बोगटीसहितका आधा दर्जन चिकित्सकको टोली संलग्न छ । सो अस्पतालले मासिक पाँच सय सङ्ख्यामा प्रसूति सेवा दिँदै आएको अस्पतालका अध्यक्षसमेत रहनुभएका डा.बोगटी बताउनुहुन्छ ।
उहाँका अनुसार परीक्षणमा आएका करिब १५ प्रतिशत जतिमा दम्पतीमा बाँझोपनाको समस्या देखिएको छ । जीवनशैलीमा आएको परिवर्तन, पत्रुखानाको सेवन, मदिरापान, सुर्तिजन्य पदार्थको सेवन र असुुरक्षित यौनसम्पर्कका कारण पनि महिला तथा पुरुषमा बाँझोपनाको समस्या देखिएको बताउनुभयो ।
किशोर अवस्थामै प्रेमीप्रेमिकाबीच असुरक्षित यौनसम्पर्कका कारण पटक पटक गर्भ तुहाउने, यौन रोगलगायतका स्वास्थ्य समस्याले पनि बाँझोपना देखिएको उहाँको भनाइ छ ।
उहाँले सन्तान जन्माउने उमेरमा बिहे नगर्ने चलन बढ्दै जानु र उमेर ढल्किँदा बिहे गर्ने कारणले पनि दम्पतीबीच बाँझोपनाले निःसन्तानको समस्या आएको हुनसक्ने बताउनुभयो ।
निःसन्तानको समस्या न्यूनीकरण गर्न बाँझोपनाको समस्या झेल्दै आएका अभिभावकले स्वास्थ्य उपचारमा जोड दिनुपर्ने उहाँ बताउनुहुन्छ ।
निःसन्तान हुन कसैको दोष नभएर आफ्नै समस्याका कारण यस्तो समस्या हँुदै आएको भए पनि अब भने निःसन्तान हुनु नपर्ने तथा स्वास्थ्य उपचारका वैकल्पिक उपाय अवलम्बन गर्न सकिने उहाँको भनाइ छ ।
निःसन्तानका लागि शिविर
दमकको ऊँ मेची अस्पतालले निःसन्तान दम्पतीका लागि लक्षित गरी बर्सेनि निःशुल्क स्वास्थ्य परामर्श शिविर सञ्चालन गरिआएको छ ।
भारतको सिलगुढीस्थित न्यूलाइफ फर्टीलिटी सेन्टरको प्राविधिक सहयोगमा अस्पतालले विगतका वर्ष झँै यस वर्ष पनि यही चैत ३० मा एक दिने परामर्श शिविर सञ्चालनको तयारी गरिरहेको अस्पतालले जनाएको छ ।
अस्पतालका सञ्चालक डा हुजदारले न्यूलाइफ फर्टिलिटीका दक्ष चिकित्सकको प्राविधिक टोलीले निःसन्तान अभिभावकलाई लक्षित गरी परामर्श शिविर सञ्चालन गरिएको जानकारी दिनुभयो ।
न्यूलाइफ महिला तथा पुरुषमा हुने बाँझोपन स्वास्थ्य निदानका लागि भरपर्दो स्वास्थ्य संस्था मानिन्छ ।
ऊँ मेची अस्पतालमा यस किसिमको स्वास्थ्य शिविर यो तेस्रो हो । शिविरबाट यस क्षेत्रका निःसन्तान अभिभावकले आफ्नै ठाँउमा यस किसिमको विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउन शिविरको आयोजना गरिएको बताउनुभयो ।
शिविरमा फर्टिलिटी सेन्टरका डा.प्रसेन्जीतकुमार रोय ,डा.सेफली वंशल माधवलगायतका चिकित्सक संलग्न हुनेछन् ।














Discussion about this post