धरान : सुनसरी उद्योग वाणिज्य सङ्घको आसन्न निर्वाचनलाई लिएर सरगर्मी बढ्दो छ।
सङ्घको अध्यक्ष पदका लागि हालका प्रथम उपाध्यक्ष गोपाल श्रेष्ठले औपचारिक रूपमा उम्मेदवारी घोषणा गरेका छन्।
लामो समयदेखि संस्थामा क्रियाशील श्रेष्ठले संस्थागत अनुभव, योजनाबद्ध कार्यदिशा र समर्थनको आधारमा नेतृत्वदायी भूमिका निभाउने दाबी गरेका छन्।
श्रेष्ठ २०४७ सालमा उद्योग वाणिज्य सङ्घमा सदस्यता लिएर प्रवेश गरेका हुन्। उनले एक कार्यकाल सदस्य, उद्योग सचिव, दुई कार्यकाल सल्लाहकार, कोषाध्यक्ष हुँदै हाल प्रथम उपाध्यक्षको जिम्मेवारी सम्हालिरहेका छन्।
लामो समयदेखि सङ्घमा विभिन्न पदमा काम गरेको अनुभव नै यसपटक अध्यक्ष बन्ने स्वाभाविक आधार रहेको उनको दाबी छ।
श्रेष्ठ नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनको केन्द्रीय सदस्य, पूर्वाञ्चल पेट्रोलियम ढुवानी व्यवसायी सङ्घका वरिष्ठ उपाध्यक्ष, पेट्रोलियम डिलर्स एसोसिएसन कोसीका कोषाध्यक्ष, धरानको आसरा सुधार केन्द्रका सञ्चालक समिति सदस्य, सुनसरी जिल्ला गल्फ सङ्घका कार्यसमिति सदस्य, ढुवानी व्यवसायी महासङ्घका सल्लाहकार र नेवाः देय दवु धरानका सल्लाहकारसमेत रहिसकेका छन्।
उनी धरान–१२ का स्थायी बासिन्दा हुन्।
व्यवसायिक पृष्ठभूमिमा श्रेष्ठ धरान प्रिन्टिङ प्रेस, अपश्री इन्टरप्राइजेज प्रा.लि., रामपुर आयल सेन्टर प्रा.लि. र विष्णु ढुवानी सेवा प्रा.लि. का सञ्चालक हुन्। उनले आफू व्यवसायीको साझा नेतृत्व बनेर सङ्घलाई सबल, समावेशी र प्रभावकारी बनाउने प्रतिबद्धता जनाएका छन्।
उनको कार्ययोजनामा धरान कोसेली घर निर्माण, बहुउपयोगी धरान–लेउती सुरुङ्गमार्गको पहल, औद्योगिक ग्रामको स्थापना, उद्योग व्यवसाय प्रवर्द्धन, व्यावसायिक सुरक्षा, हटलाइन सेवा, राहत कोष स्थापनाजस्ता विषय प्राथमिकतामा छन्।
साथै, प्रविधिमैत्री सचिवालय, वैज्ञानिक कर नीति, पर्यटनमा लगानी तथा समय सापेक्ष विधान संशोधनलाई पनि उनले आफ्नो एजेन्डामा राखेका छन्।
‘बोलीभन्दा परिणाममा विश्वास राख्ने’ बताउने श्रेष्ठले आठजना पूर्वअध्यक्षहरूको समर्थन आफूलाई रहेको दाबी गर्दै अध्यक्षमा निर्वाचित हुनेमा विश्वास व्यक्त गरेका छन्।
यसैबीच, अघिल्लो कार्यकालमा अध्यक्ष विजय श्रेष्ठसँग पराजित भएका अर्का उम्मेदवार शिवराज श्रेष्ठले पनि पुनः अध्यक्ष पदमा दाबी प्रस्तुत गरेका छन्।
दुवै उम्मेदवारले प्रचार अभियान तीव्र बनाएका छन् भने निर्वाचन समितिले कार्यतालिका सार्वजनिक गर्दै औपचारिक प्रक्रिया प्रारम्भ गरिसकेको छ।















Discussion about this post