धनकुटा : वैदेशिक रोजगारीले धेरै नेपालीलाई रोजगारी र आम्दानी दिलाए पनि कतिपय अवस्थामा परिवारलाई असहाय बनाउने उदाहरण बारम्बार देखिन्छ।
यसैबीच धनकुटाको महालक्ष्मी नगरपालिका–१ कटहरेमा एउटा यस्तो घटना भएको छ, जहाँ श्रीमान्–श्रीमतीको अकाल निधनपछि तीन छोरी अभिभावकविहीन बनेका छन्।
वैदेशिक रोजगारीका लागि दुई वर्षअघि कुवेत पुगेका ४३ वर्षीय डम्बर मगरको करिब १० दिनअघि विषाक्त मदिरा सेवनका कारण मृत्यु भयो। श्रीमान्को निधनको खबरले आघात पुगेकी ३४ वर्षीया विद्या मगरको तीन दिनमै निधन भयो।
यससँगै उनीहरूको तीन छोरी—१७ वर्षीया विपना, १६ वर्षीया सञ्जु र दुई वर्षीया संयुक्त विचल्लीमा परेका छन्।
जेठी र माइली धनकुटा नगरपालिका–५ मा रहेको गोकुण्डेश्वर बालमन्दिर विद्यालयमा कक्षा १२ र ११ मा अध्ययनरत छन् भने कान्छी संयुक्त आमाबाबुको मायाबाट वञ्चित हुँदै जीवन सुरु गर्न बाध्य छिन्। अहिले जेठी र माइली किरियापुत्री बसेका छन् भने डम्बरको शव अझै कुवेतमै छ।
वडाध्यक्ष टेकबहादुर गुरुङका अनुसार दम्पत्तिको असामयिक निधनले पूरै वडा शोकमा डुबेको छ। छोरीहरूको लालनपालनका लागि स्थानीय स्तरमा सहयोग संकलन अभियान सुरु भएको र बैंक खाता खोलेर व्यवस्थापन गर्न पहल भइरहेको उनले बताए।
यो घटनाले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको असुरक्षा र त्यसले परिवारमा पार्ने गहिरो असरलाई पुनः उजागर गरेको छ।
कुवेतमा विषाक्त मदिरा सेवनका कारण हालसम्म २२ भन्दा बढी नेपालीको ज्यान गइसकेको छ भने अझै कतिपय भने अस्पतालमा उपचाररत छन्।













Discussion about this post