सत्य, तथ्य र निष्पक्षताका लागि स्थापना भएको टाकुरा न्यूज आज आठौँ वर्षमा प्रवेश गरेको छ । २०७४ असोज १ गते टाकुरा साप्ताहिकको रूपमा सुरू भएको हाम्रो यात्रा निरन्तरता पाउँदै अहिले डिजिटल प्लेटफर्म takuranews.com मार्फत जनमानसमा प्रस्तुत भइरहेका छौँ ।
जिल्ला प्रशासन कार्यालय, सुनसरीमा विधिवत् दर्ता भई सुरू भएको हाम्रो प्रयास समय र परिस्थितिका कारण आज डिजिटल पत्रकारिताको बाटोमा केन्द्रीत भएको छ ।
कोभिड–१९ महामारीले नेपाली सञ्चार जगतलाई गम्भीर आघात पु¥यायो । छापा माध्यमको आर्थिक धारा अवरुद्ध भएपछि हामीले पनि छापा संस्करण बन्द गरी डिजिटल संस्करणलाई निरन्तरता दिनुपर्ने अवस्था आयो ।
त्यसयता हाम्रो यात्रा अझ कठीन भयो । तर पाठकको साथ र विश्वासका कारण हामी अनवरत अगाडि बढिरहेका छौँ । यतिका समय हामी अनेकन बाधा, चुनौतीबीच पनि अगाडि बढिरहेका छौँ ।
पत्रकारिता केवल समाचार प्रकाशन गर्ने पेशा मात्र होइन, लोकतन्त्रलाई जीवन्त राख्ने जिम्मेवारी पनि हो भन्ने हाम्रो विश्वास हो । यसैले हामी सधैँ सुशासन, पारदर्शीता, सामाजिक उत्तरदायित्व र नागरिक अधिकारका सवालमा स्पष्ट अडान लिँदै आएका छौँ ।
अहिलेको डिजिटल युगमा पत्रकारिता सजिलो जस्तो देखिए पनि वास्तविकता कठीन छ । भ्रामक र झुटा सूचनासामाजिक सञ्जालमार्फत छिटो फैलिन्छन्, जसले सत्य पत्रकारिताको मूल्य घटाउने खतरा बढाएको छ ।
आर्थिक असुरक्षा डिजिटल पत्रकारितामा अझ प्रस्ट छ । विज्ञापन र आयस्रोत अत्यन्त सीमित हुँदा पत्रकारितालाई निरन्तरता दिन चुनौतीपूर्ण छ । राजनीतिक दबाब र प्रभाव अझै पत्रकारिता क्षेत्रमै देखिन्छ । निष्पक्षताको अडान राख्न सजिलो छैन, तर त्यही पत्रकारिताको मूल आत्मा हो भन्ने थाहा भएकाले हामी अडानमा छौँ भन्ने हाम्रो विश्वास हो ।
पाठकको बदलिँदो रूचि पनि चुनौतीको रूपमा लिएका छौँ । खासगरी पछिल्लो समयमा छिटो, छोटकरी र मनोरञ्जनमूलक सामग्रीतर्फ आकर्षण बढिरहेका बेला तथ्यमा आधारित गहिरा समाचार दिने हाम्रो दायित्व अझ बढेको छ ।
पाठकको विश्वास र मागअनुसारको कन्टेन्ट प्रस्तुत गर्ने कुरामा हामी दृढ छौँ । आफ्नै पहिचानसहितको पत्रकारिताको कार्यभार थपिनु मात्रै होइन, चुनौतीको खुड्किलोसमेत थपिदैँ गएकोप्रति हामी सचेत छौँ । यसलाई कायम राख्दै अझ बढी जिम्मेवार र विश्वसनीय पत्रकारिताताको अभिभारा पनि छ ।
हामीलाई थाहा छ, पत्रकारितामा पहिचान बनाउन केवल समाचार छाप्नु वा प्रकाशन गर्नु मात्र पर्याप्त हुँदैन ।
त्यसमा विश्वसनीयता, निरन्तरता र अनुसन्धानमूलक दृष्टिकोण आवश्यक हुन्छ । यसैकारण हामी सत्य र तथ्यमा आधारित, सन्तुलित र नागरिकमुखी सामग्री प्रस्तुत गर्ने दृढ संकल्पसहित अघिल्लोे पाइलामा बढिरहेका छौँ ।
स्वतन्त्र पत्रकारिता कमजोर भएमा पाठकको विश्वास हराउँछ भन्ने मात्र होइन, लोकतन्त्रकै आधार हल्लिन्छ भन्नेमा हामी प्रस्ट छौँ । त्यसैले हामी लोकतन्त्र र सामाजिक न्यायलाई बलियो बनाउने पत्रकारिताप्रति अझ गम्भीर र जिम्मेवार रहनेछौँ ।
यसैबीच आठ वर्षको यात्रामा हामीसँगै हिँड्ने सबै पाठक, विज्ञापनदाता, शुभेच्छुक, सहकर्मी पत्रकार र आलोचकहरूलाई हार्दिक आभार प्रकट गर्न चाहन्छौँ । तपाईँहरूको सुझाव, आलोचना र विश्वास नै हाम्रो ऊर्जा हो ।
आगामी दिनमा हामी अझ परिष्कृत, पारदर्शी, अनुसन्धानमुखी र तथ्यमा आधारित पत्रकारिता गर्ने वाचा गर्छौँ ।














Discussion about this post