इटहरी : जिल्ला अदालत सुनसरीले दसैँमा पनि सेवा दिने भएको छ ।
सुनसरी जिल्ला अदालत, इनरुवाले दसैँ अवधिमा पनि आवश्यक न्यायिक कामकाज निरन्तर हुने गरी विशेष व्यवस्था गर्ने भएको हो ।
असोज ६ गतेदेखि असोज २० गतेसम्म नियमित कामकाज बन्द रहने भए पनि मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ९ बमोजिम आवश्यक कानुनी प्रक्रिया भने जारी रहनेछ।
अदालतका उपसचिव टिकेन्द्रवीर जङ्ग राणाले पक्राउ पूर्जी जारी गर्ने, त्यसको अनुमति प्रदान गर्ने, साथै गैरकानुनी थुनामा रहेका बन्दी प्रत्यक्षीकरणजस्ता कार्य अवरुद्ध नहुने जानकारी दिए।
यस अवधिमा शनिबार, घटस्थापना, दशैंको मुख्य दिन विजयादशमी तथा कोजागत पूर्णिमाबाहेक प्रत्येक दिन अदालत बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सञ्चालन हुने अदालतले जनाएको छ।
सार्वजनिक सूचना जारी गर्दै अदालतले सो समयमा सेवा आवश्यक पर्ने पक्षलाई उपस्थित हुन आग्रह गरेको छ।
राणाका अनुसार दसैँजस्तो ठूलो चाडपर्वमा अदालत पूर्ण रूपमा बन्द हुँदा थुनुवामा रहेका अभियुक्तहरूको हकहित प्रभावित हुनसक्ने भएकाले विशेष कदम चालिएको हो।
यसअघि पनि ठूला चाडपर्वहरूमा जिल्ला अदालतहरूले यस्तै व्यवस्था गर्दै आएको अदालतले जनाएको छ।














Discussion about this post