झापा : डिभिजन वन कार्यालय झापाले पूर्व–पश्चिम राजमार्गको उत्तर क्षेत्रमा हात्तीको बथान जिल्लामा प्रवेश गरेकाले सवाधान रहन सर्वसाधारणलाई आग्रह गरेको छ ।
गस्ती र माइकिङ गरेर सर्वसाधारणलाई सचेत बनाउनुका साथै सावधानी अपनाउन आग्रह गरिएको कार्यालयले जनाएको छ ।
मोरङबाट २५ देखि ३० को सङ्ख्यामा हुल बाँधेर बच्चासहित हात्तीको बथान झापा प्रवेश गरेकाले स्थानीयवासीलाई सोबारे जानकारी दिँदै सचेतना अपनाउन माइकिङ गरेर आग्रह गरिएको डिभिजन वन कार्यालयका प्रमुख भरतबाबु श्रेष्ठले बताए ।
‘डेढ वर्षअघि बाहुनडाँगीको प्रसाद गौँडा हुँदै ५०–६० हात्तीको बथान नेपाल प्रवेश गरेका थिए । सोमध्ये करिब एक वर्षअघि ३० वटा हात्ती भारततर्फ फर्किएको र बाँकी मोरङ र सुनसरीका वन क्षेत्रमा रहेका थिए ।
तिनै हात्ती भारततर्फ फर्कने क्रममा झापा आइपुगेकाले सर्वसाधारणलाई सावधानी अपनाउन आग्रह गरेका हौँ’, उनले भने ।
उनका अनुसार स्थानीयलाई सुरक्षित रहनका लागि कार्यालयले गस्ती र माइकिङ गरिरहेको छ । उक्त हात्तीको बथान आज शिवसताक्षीधामस्थित रतुवामाई वृक्षारोपण वन क्षेत्रमा रहेका वन कार्यालयका प्रमुख श्रेष्ठले बताए ।
उनले भने- ‘जनधनको क्षति नहोस् भन्ने उद्देश्यले हात्ती रहेका पालिकामा रात्रिकालीन गस्ती र माइकिङ गरिरहेका छौँ ।’
उनले हात्ती कुन क्षेत्रतर्फ गइरहेका छन् भनेर वन कार्यालयले रेखाङ्कन गर्दै सोही क्षेत्रमा गस्ती गरिरहेको जानकारी दिए ।
प्रमुख श्रेष्ठका अनुसार हात्ती दिनभर सामुदायिक वन क्षेत्रमा बस्ने र राति मात्र हिँड्ने गर्दछन् ।
आज र भोलिसम्ममा बाहुनडाँगीको प्रसाद गौँडा हुँदै उक्त बथान भारततर्फ फर्कने आँकलन गरिएको उनले जानकारी दिए ।














Discussion about this post